काठमाडौं । बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग पुर्याउन अस्ट्रेलियाले विशेषज्ञ टोली नेपाल पठाउने भएको छ।
अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङका अनुसार १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली नेपाल पठाउने तयारी गरिएको हो। टोलीमा ड्रोन प्रविधिका विशेषज्ञसहित उद्धार तथा विपद् व्यवस्थापनमा अनुभव भएका जनशक्ति सहभागी हुनेछन्।
उक्त टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यहरू पनि रहने बताइएको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई प्रविधिमार्फत प्रभावकारी बनाउन टोली परिचालन गरिने जनाइएको छ।
यसअघि नै अस्ट्रेलियाबाट १९ जना कर्मचारी संकट व्यवस्थापनसम्बन्धी सहयोगका लागि नेपाल आइसकेका छन्।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीपछि ३८ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ।