२०८३, भाद्र ३१ गते

Sep 16 2026

पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सीएनआई अध्यक्ष पाण्डेको सुझाव

पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सीएनआई अध्यक्ष पाण्डेको सुझाव

रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
रोज नेपाल
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई सेयर किनबेचमा मात्र सीमित नराखी आर्थिक विकासका लागि दीर्घकालीन लगानी जुटाउने प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन् ।

    बैंकिङ समाचार डटकमको आयोजनामा तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा भएको ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ मा बोल्दै पाण्डेले पुँजी बजारमार्फत उद्योग, पूर्वाधार, ऊर्जा, कृषि लगायतका उत्पादनशील क्षेत्रमा ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्नेमा जोड दिए ।

    उनका अनुसार नागरिकले गर्ने व्यक्तिगत बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानीमा रूपान्तरण गर्न सके मात्रै पुँजी बजारले अर्थतन्त्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । पुँजी बजारलाई औद्योगिकीकरण र आर्थिक रूपान्तरणका लागि आवश्यक वित्तीय पूर्वाधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

    नेपालको आर्थिक वृद्धिको आधार लामो समयदेखि रेमिट्यान्स, उपभोग र आयातमा बढी निर्भर रहेको उल्लेख गर्दै पाण्डेले अब लगानी, उत्पादन, उत्पादकत्व, प्रविधि तथा निर्यातमुखी अर्थतन्त्र निर्माणतर्फ ध्यान दिनुपर्ने बताए ।

    उनले उद्योग विस्तारसँगै पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकासलाई आर्थिक वृद्धिको नयाँ आधार बनाउनुपर्ने धारणा राखे ।

    ठूलो संख्यामा रोजगारी सिर्जना गर्न दीर्घकालीन तथा पर्याप्त पुँजी आवश्यक पर्ने भन्दै उनले बैंकिङ प्रणालीको ऋणले मात्रै ठूला पूर्वाधार, उद्योग र दीर्घकालीन परियोजनाको वित्तीय आवश्यकता पूरा गर्न नसक्ने बताए । त्यसका लागि बैंकिङ क्षेत्रसँगै पुँजी बजारलाई पनि अर्थतन्त्रको अर्को प्रमुख वित्तीय स्रोतका रूपमा विस्तार गर्नुपर्ने उनले बताए ।

    सीएनआईले अघि सारेको १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण तथा दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न बलियो, विविधीकृत, विश्वसनीय र दीर्घकालीन पुँजी बजार आवश्यक रहेको पाण्डेले बताए ।

    नेपालको पुँजी बजारमा पछिल्लो समय भएको विस्तारलाई भने उनले सकारात्मक उपलब्धिका रूपमा चित्रण गरे । उनका अनुसार हाल देशमा ७५ लाखभन्दा बढी डिम्याट खाता र ६५ लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता छन् । एक दशकअघिको अवस्थासँग तुलना गर्दा यो उल्लेखनीय परिवर्तन भएको उनले बताए ।

    त्यस्तै, नेपालको सेयर बजारको कुल बजार पुँजीकरण जीडीपीको करिब ६६ प्रतिशत पुगेको उल्लेख गर्दै पाण्डेले पुँजी बजार अब अर्थतन्त्रको सानो हिस्सामा सीमित नरहेको बताए ।

    यद्यपि, पुँजी बजारको विकासलाई नेप्से परिसूचक बढेको आधारमा मात्रै मूल्यांकन गर्न नहुने उनको भनाइ थियो । बजार विस्तारको वास्तविक उपलब्धि उत्पादन, रोजगारी, उद्योग तथा नयाँ लगानीमा देखिनुपर्ने उनले बताए ।

    पाण्डेका अनुसार पुँजी बजारको आकार बढ्दै गए पनि त्यसको प्रत्यक्ष प्रभाव वास्तविक अर्थतन्त्रमा पर्न सकेन भने बजार विकासको उद्देश्य पूर्ण रूपमा हासिल भएको मान्न नसकिनेछ । त्यसैले वित्तीय बजारको विस्तारलाई उत्पादन र रोजगारी वृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij