काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित नागरिकको सम्झनामा बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले विशेष प्रार्थना, मैनबत्ती प्रज्वलन र पुण्य समर्पणका लागि आह्वान गरेका छन्।
किरोङ, रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै रिन्पोछेले मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति करुणा व्यक्त गरेका हुन्।
उनले आफू यस कठिन समयमा व्यक्तिगत रूपमा प्रार्थना अर्पण गर्न तथा सबै आध्यात्मिक प्राणीलाई सत्य अर्थात् धर्म र आन्तरिक शान्ति अर्थात् चित्त शान्तिको मार्गमा डोर्याउने भावनासहित नेपाल फर्किएको बताएका छन्।
उनका अनुसार बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा २१औँ दिनमा प्रार्थना, मैनबत्ती प्रज्वलन र समर्पण गर्नु केवल धार्मिक अनुष्ठान मात्र नभई मृतकप्रतिको सम्मान, परिवारजनप्रतिको करुणा र समाजमा शान्तिको भावना विस्तार गर्ने माध्यम पनि हो।
बौद्ध परम्परामा मृत्यु पछिको चेतनाको अवस्थालाई ‘बार्डो’ भनिन्छ। तिब्बती बुक अफ द डेड (बार्डो थोडोल) मा मृत्यु र पुनर्जन्मबीचको यस मध्यवर्ती अवस्थाका बारेमा विस्तृत आध्यात्मिक व्याख्या गरिएको छ।
रिन्पोछेका अनुसार धेरै हिमाली बौद्ध परम्परामा बार्डोको अवधि ४९ दिनसम्म रहने र त्यसलाई सात–सात दिनका सात चरणमा बुझ्ने परम्परा छ। यस अवधिमा परिवार तथा आध्यात्मिक साधकहरूले मृतकको शान्ति, शुभ पुनर्जन्म र मुक्ति कामनासहित प्रार्थना, अर्पण, दान, ध्यान तथा पुण्यकार्य गर्ने परम्परा रहँदै आएको छ।
तेस्रो हप्ता अर्थात् करिब १५औँदेखि २१औँ दिनसम्मको समयलाई पनि विशेष महत्त्वपूर्ण मानिने उल्लेख गर्दै उनले यस अवधिमा मृतकको चेतनाका लागि प्रार्थना र आध्यात्मिक मार्गदर्शनको अभ्यास गरिनुपर्ने बताएका छन्।
रिन्पोछेले प्रार्थनालाई केवल मृतकको आत्मिक यात्रासँग जोडेर हेर्न नहुने बताएका छन्। उनका अनुसार प्रार्थना जीवित परिवारजनको दुःखलाई पनि करुणा, सद्भाव र पुण्यमा रूपान्तरण गर्ने माध्यम हो। ‘मृतकका लागि प्रार्थना, जीवितका लागि करुणा’ हो।
परिवारले मृतकको सम्झनामा दान, ध्यान, अर्पण तथा अन्य सद्गुणपूर्ण काम गरेर त्यसको पुण्य मृतकको शुभ पुनर्जन्म र मुक्ति प्राप्तिका लागि समर्पण गर्न सक्ने उनले बताएका छन्।
उनले अमिताभको प्रार्थना, चेनेरेजी अर्थात् अवलोकितेश्वरको साधना, शान्ति मन्त्र तथा विभिन्न बौद्ध परम्परामा प्रचलित प्रार्थना र अनुष्ठानमार्फत मृतकप्रति श्रद्धा व्यक्त गर्न सकिने उल्लेख गरेका छन्।
तर यस्ता धार्मिक अभ्यास विद्यालय, वंशपरम्परा, गुम्बा तथा स्थानीय संस्कारअनुसार फरक हुन सक्ने उनको भनाइ छ।
रिन्पोछेको सन्देशको मूल केन्द्रमा करुणा, शान्ति र मानवीय एकता रहेको छ। उनका अनुसार मृतकलाई सम्झनु भनेको केवल विगतप्रति दुःखी हुनु होइन, त्यस दुःखलाई समाजका लागि सकारात्मक शक्तिमा बदल्नु पनि हो।
‘हिमाली बौद्ध धर्मले यसलाई बुझ्ने एउटा सुन्दर तरिका के हो भने परिवारले मृतकका लागि केवल प्रार्थना मात्र गरिरहेको हुँदैन, उनीहरूले आफ्नो दुःखलाई करुणा र पुण्यमा रूपान्तरण गर्दै त्यस सद्गुणलाई मृतकको मुक्ति तथा शुभ पुनर्जन्मका लागि समर्पित गरिरहेका हुन्छन्,’ रिन्पोछेको सन्देशमा उल्लेख छ।
यो दृष्टिकोणले विपद्पछि शोकमा रहेका परिवारलाई मानसिक तथा आध्यात्मिक रूपमा सम्हाल्न र समाजमा सहानुभूति तथा एकताको भावना बलियो बनाउन पनि प्रेरणा दिने देखिन्छ।
यसै भावनालाई केन्द्रमा राख्दै युनिभर्सल पीस स्यान्क्चुअरी फाउन्डेसन, विश्व शान्ति धाम लुम्विनी नेपालले सेप्टेम्बर १४, १५ र १६ गते बिहान ७ः३० देखि १०ः०० बजेसम्म बौद्ध स्तूपमा तीनदिने विशेष पूजा समारोह आयोजना गर्ने भएको छ। पूजा समारोहमा विभिन्न स्वयंसेवी संस्थाहरूको समेत सहभागिता रहने जनाइएको छ।
रिन्पोछेले शान्तिप्रेमी सबै नागरिकलाई कार्यक्रममा सहभागी हुन तथा यस मानवीय र आध्यात्मिक सन्देशलाई आफ्नो परिवार, समुदाय, देश तथा संसारभर फैलाउन आग्रह गरेका छन्।
रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षतिले नेपाली समाजलाई गहिरो पीडा दिएको छ। यस्तो अवस्थामा उद्धार, राहत र पुनःस्थापनासँगै शोकमा रहेका परिवारलाई भावनात्मक तथा आध्यात्मिक साथ दिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। श्याल्पा रिन्पोछेको आह्वानले यही मानवीय पक्षलाई उजागर गरेको छ-मृतकप्रति श्रद्धा, पीडितप्रति करुणा र समाजप्रति जिम्मेवारी। धर्मको सार विभाजनमा होइन, मानव दुःखमा साथ दिनु, करुणा जगाउनु र शान्तिको बाटो देखाउनुमा रहेको सन्देश पनि यस अभियानले दिएको छ। धर्मगुरु श्याल्पा रिन्पोछेका अनुसार विपद्ले दिएको अर्को पाठ : मानवता सबैभन्दा ठूलो धर्म हो ।
विपद्ले मानिसका घर, सम्पत्ति र संरचना बगाउन सक्छ; तर त्यही विपद्को बीचमा जाग्ने मानवीय करुणा, सहयोग र एकताले समाजलाई फेरि उभ्याउन सक्छ। त्यसैले मृतकहरूको सम्झनामा बालिने एउटा मैनबत्ती केवल एउटा व्यक्तिका लागि श्रद्धाको प्रतीक होइन-त्यो अन्धकारमा शान्ति, करुणा र मानवताको उज्यालो फैलाउने संकल्प पनि बन्न सक्छ।
