काठमाडौं । हरितालिका तीजको व्रतका लागि तयारीस्वरूप नेपाली महिलाले आज दर खाने भएका छन्। भाद्र शुक्ल द्वितीयाका दिन माइतीघरमा चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परासँगै चारदिने तीज पर्वको औपचारिक सुरुवात हुँदैछ।
तीजको व्रतका दिन निराहार बस्ने धार्मिक परम्परा रहेकाले त्यसको अघिल्लो साँझ बर्तालुले शरीरलाई आवश्यक शक्ति मिल्ने गरी पौष्टिक तथा आडिला खानेकुरा खाने चलन छ। दूधबाट बनेका परिकार, घिउ तथा गहुँको रोटी लगायतका खाद्य पदार्थ दरका रूपमा खाने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
परम्पराअनुसार माइती तथा दाजुभाइले छोरी, दिदीबहिनी र चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने गर्छन्। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दर रातको दुई भाग बित्नुअघि नै खाइसक्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
तीजमा सुख–दुःख पोख्ने परम्परा
तीज धार्मिक आस्थासँग मात्र जोडिएको पर्व होइन, नेपाली महिलाले आफ्ना भावना र अनुभव व्यक्त गर्ने अवसरका रूपमा पनि यसलाई लिँदै आएका छन्। विशेषगरी विवाहपछि माइतीबाट टाढा पुगेका महिलाले गीत तथा भेटघाटका माध्यमबाट वर्षभरिका सुख, दुःख, पीडा र गुनासो व्यक्त गर्ने परम्परा पुरानो हो।
समयसँगै तीज मनाउने शैली पनि परिवर्तन भएको छ। नेपालमा सीमित रहेको यो पर्व पछिल्ला वर्षमा प्रचारप्रसार र सञ्चारमाध्यमको प्रभावका कारण भारतका केही क्षेत्रमा समेत मनाउन थालिएको बताइन्छ। तीजका गीत भारतीय टेलिभिजन माध्यममा समेत प्रसारण हुन थालेका छन्।
तडकभडक बढ्दा मौलिकतामाथि प्रश्न
पछिल्ला वर्षमा तीज पर्वको मौलिक स्वरूपभन्दा देखासिकी र खर्चिलो प्रवृत्ति हाबी हुँदै गएको भन्दै आलोचना हुन थालेको छ। तीज आउनुभन्दा धेरै साताअघिदेखि नै दर खाने कार्यक्रम आयोजना गर्ने, महँगा पहिरन तथा गरगहना प्रदर्शन गर्ने प्रवृत्तिले पर्वको सांस्कृतिक पक्ष कमजोर बनाउने चिन्ता संस्कृतिविद् तथा समाजशास्त्रीहरूले व्यक्त गरेका छन्।
समाजशास्त्री कीर्तिकुमार राईका अनुसार व्रत बस्नुअघि शक्ति सञ्चयका लागि खाने दरलाई महिनौँअघिदेखि निरन्तरता दिनु परम्पराको मूल भावनासँग मेल खाँदैन। यसले आर्थिक रूपमा कमजोर वर्गमा समेत अनावश्यक दबाब र हीनभावना सिर्जना गर्न सक्ने उनको भनाइ छ।
सरकारी तथा सार्वजनिक संस्थाले समेत तीजका नाममा लामो समयअघि नै खर्चिलो कार्यक्रम आयोजना गर्न थालेकोप्रति धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले असन्तुष्टि जनाएका छन्। उनका अनुसार नागरिकको करबाट सञ्चालन हुने सरकारी निकायले नै सांस्कृतिक विकृति बढाउने गतिविधिलाई प्रोत्साहन गर्नु उचित हुँदैन।
यसरी पूरा हुन्छ तीज पर्व
दर खाएपछि सुरु हुने तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रतसँग अघि बढ्छ। त्यसपछि चौथीमा गणेशको पूजा र पञ्चमीमा ऋषि पञ्चमी मनाएपछि पर्वको धार्मिक क्रम पूरा हुन्छ।
यस वर्ष भदौ ३० गते गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाउने गरी स्वीकृत पात्रोमा उल्लेख गरिएको छ। गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि पर्ने आधारमा तथा ऋषि पञ्चमी मध्याह्नमा पञ्चमी तिथि पर्ने शास्त्रीय मान्यताअनुसार मनाइने बताइएको छ।
पार्वतीसँग जोडिएको तीजको धार्मिक कथा
हरितालिका तीजको धार्मिक आधार देवी पार्वती र भगवान् शिवसँग जोडिएको छ। पौराणिक कथाअनुसार पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। तर उनको इच्छाविपरीत अन्यत्र विवाह गराउने प्रयास भएपछि साथीहरूले उनलाई सुरक्षित स्थानमा लगेर लुकाएको र त्यहीँ उनले निराहार व्रत बसेको धार्मिक आख्यान पाइन्छ।
पार्वतीले तपस्या र व्रतमार्फत महादेवलाई पति रूपमा प्राप्त गरेको विश्वासका आधारमा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत बस्ने परम्परा चलेको धर्मशास्त्रीय मान्यता छ।
तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिलाको उल्लेख्य भीड लाग्ने गर्छ। व्रत, पूजा र धार्मिक अनुष्ठानसँगै दिदीबहिनी तथा पुराना साथीभाइसँग भेटघाट गर्ने, गीत गाउने र आपसी सुखदुःख साट्ने चलनले पनि पर्वलाई विशेष बनाएको छ।
तीज सुरु भएसँगै नेपाली समाजमा पर्वको माहोलसमेत बढ्दै जान्छ। तीजपछि क्रमशः दसैँ र तिहारजस्ता प्रमुख चाडपर्व नजिकिने भएकाले नेपाली सांस्कृतिक क्यालेन्डरमा तीजलाई चाडपर्वको लामो शृङ्खलाको सुरुवाती पर्वका रूपमा समेत लिइन्छ।