झापा । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत व्यक्ति भएको दाबी गर्दै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थामा पुगेर प्रभाव जमाउन खोजेको आरोपमा झापामा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।
विश्वकर्माले आफू रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको भन्दै परिचय दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त परिचय प्रयोग गरी उनी विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र त्यहाँ दबाब तथा धाकधम्की दिने गरेको प्रहरीको आरोप छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट परिचालित प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा उनले दाबी गरेका दुवै जिम्मेवारी वास्तविक नभएको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरिएको छ।
प्रहरीले विश्वकर्माले नक्कली परिचय प्रयोग गरेर कसैबाट आर्थिक वा अन्य कुनै लाभ लिएको अथवा कसैलाई क्षति पुर्याएको जानकारी भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।