काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमाथि छलफल तथा कार्यसूचीअनुसारका प्रक्रिया अघि बढाइनेछ।
आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू उठाइनेछन्। ती प्रश्नको सम्बन्धित मन्त्रीहरूले सदनमा जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने विषयसँग सम्बन्धित प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।
नेपाल सरकारले आफ्नो तर्फबाट गरेको घोषणासहित परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलन अनुमोदनका लागि मन्त्री गौतमले प्रस्ताव पेस गर्नेछिन्।
आजको बैठकमा उक्त प्रस्तावसहित निर्धारित अन्य संसदीय कामकारबाही पनि अघि बढाइने संसद् सचिवालयले जनाएको छ।