काठमाडौं । नेपाली हिन्दु महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व तीजसँगै जोडिएको महत्वपूर्ण धार्मिक पर्वका रूपमा लिइन्छ।
धार्मिक परम्पराअनुसार महिलाहरू बिहानै उठेर नित्यकर्म पूरा गरी नदी, खोला, पोखरी वा अन्य जलाशयमा पुगेर विशेष स्नान गर्ने गर्छन्। स्नानअघि ३६५ वटा दत्तिवन प्रयोग गरी दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गर्ने परम्परा छ।
यस वर्ष चौथी तिथि क्षय भएकाले तीजको व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। त्यसैले तीजको व्रत पारायण सम्पन्न गरेपछि पञ्चमीको स्नान तथा अन्य धार्मिक विधि पूरा गर्नुपर्ने धर्मशास्त्रीहरूको भनाइ छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय आधार भए पनि ऋषि पञ्चमीको व्रत भने विशेषगरी महिलासँग सम्बन्धित रहेको धार्मिक ग्रन्थमा उल्लेख छ।
सप्तऋषिको पूजा किन गरिन्छ ?
धार्मिक मान्यताअनुसार रजस्वलाका क्रममा भएका त्रुटि वा छुवाछुतसम्बन्धी दोषबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा छ।
स्नान तथा शुद्धीकरणको विधि पूरा गरेपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ। अरुन्धतीसहित यी सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस दिनलाई ‘ऋषि पञ्चमी’ भनिएको धार्मिक विश्वास छ।
इन्द्रको कथासँग जोडिएको मान्यता
ऋषि पञ्चमीको उत्पत्तिसँग सम्बन्धित विभिन्न धार्मिक कथा पनि प्रचलित छन्। तीमध्ये एउटा कथाअनुसार इन्द्रले विश्वरुपको हत्या गरेपछि ब्रह्महत्याको दोष भोग्नुपरेको थियो। उक्त दोषबाट मुक्ति खोजेपछि ब्रह्माले त्यसलाई पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भागमा बाँडेको धार्मिक मान्यता छ।
त्यसैसँग जोडेर पृथ्वीमा उब्जनी नहुने उषर भूमि, वृक्षबाट निस्कने खोटो, पानीमा देखिने फिँज र महिलामा हुने रजस्वलालाई व्याख्या गर्ने परम्परा बनेको बताइन्छ।
धार्मिक विश्वासमा रजस्वलाका समयमा जानी–नजानी भएको छुवाछुतबाट उत्पन्न दोष ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजा र विशेष स्नान गरेपछि हट्ने उल्लेख पाइन्छ। यद्यपि यस्ता परम्परालाई आधुनिक स्वास्थ्य र वैज्ञानिक दृष्टिकोणबाट समेत अध्ययन गर्नुपर्ने आवश्यकता रहेको अध्यात्मसम्बन्धी पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीको भनाइ छ।
एक छाक हविष्य भोजन गर्ने चलन
ऋषि पञ्चमीका दिन विशेष स्नान तथा पूजा सम्पन्न गरेपछि नरोपी आफैं उम्रने अन्न, सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका परिकार सेवन गरी एक छाक मात्र हविष्य भोजन गर्ने परम्परा छ।
पर्वको अवसरमा काठमाडौंका टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा महिलाहरूको उल्लेख्य भीड लाग्ने गर्छ। मन्दिर पुग्न नसक्ने भक्तजनले नदी किनार वा आफ्नै घरमा सप्तऋषिको पूजा तथा आराधना गर्ने गरेका छन्।