२०८३, आश्विन १ गते

Sep 17 2026

हाम्रो सोच कि हाम्रो संस्कार?

हाम्रो सोच कि हाम्रो संस्कार?

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • डा.सुवास घिमिरे

    नेपाल आज एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर हामी “समृद्ध नेपाल” को नारा लगाइरहेका छौँ, अर्कोतिर समृद्ध भएको देख्न हामी नै असहज महसुस गर्छौँ। यो हाम्रो समाजको एउटा गहिरो विरोधाभास हो। हामी सबैलाई धनी बन्नु छ, तर कोही धनी भयो भने उसलाई शंका, आलोचना र कहिलेकाहीँ अपमानको नजरले हेर्न थाल्छौँ। आखिर किन हाम्रो समाजले सफलतालाई उत्सवको रूपमा मनाउन सक्दैन? आज भाटभटेनीका मीनबहादुर गुरुङ हुन् वा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका उपेन्द्र महतो जस्ता उद्योगी व्यवसायीहरू—उनीहरूले हजारौँलाई रोजगारी दिएका छन्, राज्यलाई करोडौँ कर बुझाएका छन्। तर समाजको एउटा तप्का र कहिलेकाहीँ राज्य संयन्त्रले पनि उनीहरूको पसिना होइन, केवल सम्पत्तिको आकार मात्र देख्छ।

    के व्यापार गर्नु र धन आर्जन गर्नु नेपालमा अपराध हो? वैधानिक रूपमा आफ्नै पौरखले समृद्ध हुनु गलत हो? के हामी सधैँ गरिबीको कथामा मात्र रमाउनुपर्ने हो? यदि कसैले मेहनत गरेर महल बनाउँछ भने त्यसलाई सम्मान गर्न नसक्नु हाम्रो मानसिक दरिद्रता होइन र? किन समाजले केवल दुःख देख्दा मात्र सहानुभूति देखाउँछ, तर सफलतामा शंका गर्छ? विडम्बना के छ भने, हामीले “बुद्धिजीवी” ठानेका कतिपय व्यक्ति, पूर्व प्रशासक वा राजनीतिक पात्रहरू नै कहिलेकाहीँ उद्यमीलाई अपराधीझैँ चित्रण गर्न रुचाउँछन्। अनि हामी पनि त्यसैमा ताली बजाउँछौँ।

    मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गर्दा खेदो खन्ने संस्कार पनि देखिन्छ। सम्पत्ति भएको मन्त्रीलाई शंका, तर केही नभएकोलाई लोकप्रियता—यो कस्तो सामाजिक मापदण्ड हो? हामीले बुझ्नुपर्छ—राज्य कर (Tax) ले चल्छ। उद्योगी, व्यवसायी र लगानीकर्ताले वैधानिक रूपमा कर तिरेर नै देशको अर्थतन्त्र चलाउँछन्।

    जब यिनै योगदानकर्तालाई अनावश्यक रूपमा अपमानित गरिन्छ वा सस्तो लोकप्रियताको नाममा अप्ठ्यारोमा पारिन्छ, तब प्रश्न उठ्छ—के हामी विकास चाहन्छौँ वा केवल नारा? यदि कर तिर्ने मान्छेलाई चोर र कर खानेलाई साधु बनाउने सोच रहिरह्यो भने देश कसरी बन्छ? तर निराशाबीच पनि एउटा आशाको संकेत देखिन्छ। पछिल्लो समय राजनीतिमा युवा र उद्यमशील सोच भएका नेतृत्वहरूको प्रवेशले केही नयाँ आशा जगाएको छ।

    उनीहरूको सम्पत्ति पारदर्शिता र अनुभवले देखाउँछ कि उनीहरूले उद्यमशीलता र लगानीको वास्तविक पीडा बुझ्न सक्छन्। तर समाजले उनीहरूलाई पनि शंकाको नजरले हेर्दा प्रश्न उठ्छ—हामी इमान्दारिता देखिरहेका छौँ कि पूर्वाग्रह? हिजोका दिनमा सम्पत्ति लुकाउने प्रवृत्तिलाई सामान्य मानिन्थ्यो, तर आज पारदर्शितालाई नै प्रश्न गरिन्छ। हामीले बुझ्नुपर्छ—देश समृद्ध हुन जनतासँगै नेतृत्व पनि समृद्ध र जिम्मेवार हुनुपर्छ। कम्पनी नाफाले चल्छ, सामाजिक संस्था दानले चल्छ र सरकार करले चल्छ।

    यदि हामीले नाफा कमाउनेलाई गाली गर्यौँ, दान दिनेलाई शंका गर्यौँ र कर तिर्नेलाई अपमान गर्यौँ भने, यो देश कहिल्यै अघि बढ्दैन। अब हामीले हाम्रो भाष्य बदल्नुपर्छ। समृद्धिलाई घृणा गरेर समृद्धि प्राप्त हुँदैन। उद्यमीलाई सम्मान गरौँ, लगानीको वातावरण बनाऔँ, र “धनी हुनु पनि गर्वको कुरा हो” भन्ने सोच विकास गरौँ।

    नेपाल बनाउन पहिला हाम्रो सोच बदल्नुपर्छ। समृद्धिलाई उत्सव बनाउन सिक्नुपर्छ, डर होइन। किनकि अन्ततः—जब एउटा नागरिक सफल हुन्छ, तब मात्र एउटा राष्ट्र सफल हुन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij