२०८३, आश्विन २ गते

Sep 18 2026

जेलबाट फरार सपना प्रेमीसँगै ठमेलबाट पक्राउ

जेलबाट फरार सपना प्रेमीसँगै ठमेलबाट पक्राउ

रोज नेपाल
सोमवार, जेठ ४ २०८३
रोज नेपाल
सोमवार, जेठ ४ २०८३
  • काठमाडौं \ नुवाकोटको विदुर नगरपालिका–१३ स्पाङ काउले घर भएकी २५ वर्षीया सपना तामाङ शुक्रबार राति १ बजेआसपास तिर काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट मध्यराति कारागारको पर्खाल नाघेर भागेकी हुन्। क्लोज सर्किट क्यामेरा सीसीक्यामेरा मा देखिएको दृश्यअनुसार भुइँमा अग्लो वस्तुहरू राखेर सपना कारागारको पर्खाल नाघेर भागेकी थिइन् ।

    जेलबाट फरार भएकी सपनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

    सपनासँगै प्रहरीले भोजपुर घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय समीर श्रेष्ठलाई समेत पक्राउ गरेको छ । सपना जेलबाट भागेर सीमरकै असनस्थित कोठामा बसेको पाइएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

    प्रहरी स्रोतकाअनुसार पक्राउ परेका समीर र सपना प्रेमी–प्रेमिका हुन् । यसअघि जेनजी आन्दोलनमा कारागारबाट भाग्दा पनि सपना समीरकै कोठामा बसेकी थिइन् ।

    अहिले पक्राउ परेका समीरका आमा पनि यसअघि सुन्धारा कारागारमै थिए । समीर आमालाई भेट्न कारागार जाँदा कारागारमै सपना र समीरबीच चिनजान हुँदै प्रेमी प्रेमिकाको रूप लिएको प्रहरी स्रोत बताउँछ ।

    कारागारबाट सपनाले समीरलाई फोन सम्पर्क गरिरहन्थिन् । समीरका बुबासँग पनि सपनाको सम्पर्क हुन्थ्यो । शुक्रबार राति कारागारबाट भागेपछि सपनाले समीरलाई फोन सम्पर्क गरेकी थिइन् । तर उनको फोनमा सम्पर्क भएन । त्यसपछि समीरका बुबाको मोबाइलमा सपनाले सम्पर्क गरेको देखिएको प्रहरी स्रोत बताउँछ ।

    बुबामार्फत सम्पर्क गरेपछि उनी आफ्ना प्रेमीको कोठामा गएर बसेको देखिएको एक अनुसन्धान अधिकारीले बताए । समीर भने असनकै एक भाडा पसलमा काम गर्ने व्यक्ति हुन् । उनका आमा भने अहिले कारागार सरुवा भएर उदयपुर पुगेकी छिन् ।

    कैदी भगाउन सहयोग गरेको आरोपमा समीरमाथि अनुसन्धान हुने प्रहरीले बताएको छ । फरार कैदी आफ्नो कोठामा आएपछि प्रहरीलाई खबर गर्नुपर्नेमा सम्पर्क नगरी लुकाएर राखेको कसुरमा समीरमाथि अनुसन्धान हुने प्रहरीले बताएको छ ।

    डाँका चोरी, अपहरण र हत्या मुद्दामा जन्मकैद २५ वर्ष को फैसला सुनाइएका सपनाले कारागार प्रशासन, सुरक्षामा खटिएको प्रहरीलाई चकित पार्दै महिला बन्दीगृहबाट फरार भएकी थिइन् ।

    उनी १७ वर्षकै उमेरदेखि पक्राउ पर्न थालेकी थिइन् । प्रहरीका अनुसार उनी त्यतिबेला चोरीको कसुरमा पक्राउ पर्दै छुट्दै गर्न थालेकी थिइन् ।

     २०७७ सालमा रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङले कानमा लगाएको मुन्द्रा सपनाले लुटपाट गरेकी थिइन् ।  बालिकाले आफ्नो सुनको मुन्द्रा लुटेको विषय परिवारलाई बताउने बताएपछि सपनाले ती बालिकाको हत्या गरेकी थिइन् ।

    ती बालिकालाई अपहरण गरेर उनले हत्या गरेकी थिइन् । विद्यालय गएकी सुमिना घर नफर्केपछि खोजी गर्दा कालिकाकै भिरमको ओडरमा बालिकाको शव भेटिएको थियो । ती बालिकाको घाँटीमा डोरीले कसेर उनले हत्या गरेको प्रहरीले बताएको छ । यही कसुरमा उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

    उनी सुरुमा रसुवा कारागारमा थिइन् । त्यहाँबाट उनलाई सुन्धारा कारागारमा सरुवा गरिएको थियो । ६ वर्षदेखि कारागारमा रहेकी उनी गत २४ भदौको जनेजी आन्दोलनको मौकामा फरार भएकी थिइन् ।

    त्यसपछि प्रहरीले उनलाई रसुवाबाट १६ कात्तिकमा पक्राउ गरेको थियो । पक्राउ गरेर सुन्धारा कारागारमा राखिएकी उनी फेरि फरार भएकी थिइन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij