काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपैयाँ घुससहित एक नापी अधिकृतलाई पक्राउ गरेको छ।
आयोगले काठमाडौंको नापी कार्यालय, डिल्लीबजारअन्तर्गत नम्बर ३ नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिलबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो।
छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन अनावश्यक दुःख तथा हैरानी दिएको र त्यसबापत घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अख्तियारका अनुसार वलीलाई घुसबापत लिएको ९ लाख रुपैयाँसहित बुधबार काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो।
वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।