काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा तथा भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले प्रभावित पक्षले आन्दोलन घोषणा गरेको जानकारी सदनलाई गराएका हुन्। उनका अनुसार प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थलमा प्रवेश गर्न नदिने निर्णय गरेको छ।
आन्दोलनका कारण मेलम्ची आयोजनाको नियमित काम प्रभावित हुनसक्ने र त्यसले आयोजनाको सञ्चालनमै समस्या निम्त्याउन सक्ने भन्दै दुलालले सरकारको ध्यानाकर्षण गराए।
उनले विगतमा मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पक्ष र स्थानीय भेन्डर्सले पानी पथान्तरण रोकेपछि सरकारले विभिन्न सहमति गरेको स्मरण गराए। तर ती सहमति अझै पूर्ण रूपमा कार्यान्वयन नभएको उनको भनाइ छ।
दुलालका अनुसार बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रमा पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलाई प्रमुख माग बनाएको छ। स्थानीय भेन्डर्सको मुख्य सरोकार भने सरकारले तिर्नुपर्ने भुक्तानीसँग सम्बन्धित रहेको उनले बताए।
मेलम्ची आयोजनाको काम पुनः अवरुद्ध हुने अवस्था आउन नदिन सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा दुलालले जोड दिए।
उनले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न माग गरे। त्यस्तै मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवर्षीय ठेक्का प्रक्रिया पनि ढिलाइ नगरी अघि बढाउन उनले सरकारसँग आग्रह गरे।
मेलम्ची आयोजनासँग सम्बन्धित प्रभावितहरूसँग विगतमा भएका सहमति कार्यान्वयन नभए पुनः आन्दोलन चर्किन सक्ने उनको चेतावनी थियो।
दुलालले सम्झौता कार्यान्वयन र सडक निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई आग्रह गर्दै मेलम्ची आयोजनामा आउने अवरोधका कारण राजधानीवासीले फेरि खानेपानी अभावको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनसमेत ध्यान दिनुपर्ने बताए।