काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि महामन्त्री प्रदीप पौडेलले महाधिवेशनका लागि अनुकूल वातावरण निर्माण हुँदै गएको बताएका छन्।
पौडेलका अनुसार सदस्यता नवीकरणदेखि वडा तहका अधिवेशनसम्मका प्रक्रिया अघि बढाउँदै पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउने काम भइरहेको छ। पार्टीभित्र रहेका असन्तुष्टि तथा गुनासालाई सम्बोधन गर्दै छुटेका नेता–कार्यकर्तालाई पनि मूलधारमा जोड्ने प्रयास भइरहेको उनले बताए।
पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित कार्यसमितिमा छुटेका नेताहरूलाई समेत केन्द्रीय समितिमा सहभागी गराउन विशेष व्यवस्था गरिएको पौडेलले जानकारी दिए।
उनले अब पार्टीभित्रको आन्तरिक मतभेदभन्दा संगठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। कांग्रेसलाई देशव्यापी रूपमा थप संगठित गर्दै आगामी राजनीतिक भूमिकाका लागि तयार पार्ने अभियानमा पार्टी केन्द्रित हुने उनको भनाइ छ।