काठमाडौँ । पत्रकारिता र सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार तथा लेखक नन्दलाल खरेललाई ‘जनचेतना–समाज परिवर्तन नेपाल’ले जनचेतना सम्मान पत्र–२०८२ प्रदान गरेको छ।
‘ॐ समाज डेन्टल हस्पिटल’को सहयोगमा आयोजित विशेष कार्यक्रममा खरेललाई सम्मानित गरिएको हो। सत्य, न्याय र जनचेतनाको निरन्तर अभियान सञ्चालन गर्दै आएका खरेलको योगदानलाई कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।
सम्मान पत्रमा पत्रकार खरेलको निष्ठा, साहस, निस्वार्थ सेवाभाव, सत्यप्रतिबद्धता, स्वास्थ्य र शिक्षा क्षेत्रमा पुर्याएको योगदान, सामाजिक न्यायका पक्षमा गरिएको अभियान र जनचेतनामूलक गतिविधिलाई विशेष प्रशंसा गरिएको छ।
कार्यक्रममा ‘जनचेतना–समाज परिवर्तन नेपाल’का अध्यक्ष डा. सुवास घिमिरेले खरेलको कर्म, सेवा र समर्पणलाई समाजका लागि प्रेरणादायी बताउँदै निरन्तर योगदानको प्रशंसा गरे।
त्यस्तै, प्रमुख अतिथि साहित्यकार तथा अभिनेता मोहन निरौलाले सञ्चारकर्मीहरूको भूमिकाले जनचेतनाको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै खरेलले प्राप्त गरेको सम्मानलाई उचित र प्रशंसनीय बताए।
सम्मान ग्रहण गर्दै पत्रकार नन्दलाल खरेलले समाज परिवर्तन र जनचेतनाको अभियानलाई अझ सबल बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आयोजक संस्था र ॐ समाज डेन्टल हस्पिटल परिवारप्रति आभार प्रकट गरे।
खरेल हाल टपटेन खबरका सम्पादक समेत रहेका छन्।