काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका मा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ मेहनत, अनुशासन र लक्ष्यप्रति दृढ रहन आग्रह गर्दै SEE जीवनको एउटा महत्वपूर्ण खुड्किलो मात्र भएको बताए। उनले गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर काम गरिरहेको उल्लेख गरे।
त्यसैगरी, कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले विद्यार्थीहरूलाई उच्च शिक्षा, प्राविधिक शिक्षा तथा सीपमूलक अध्ययनतर्फ प्रेरित गर्दै सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिएका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई अध्ययन छनोट, करियर निर्माण, समय व्यवस्थापन तथा भविष्यका अवसरबारे विशेष परामर्श समेत प्रदान गरिएको थियो। शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।