काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सव चलचित्र विकास बोर्ड परिसरमा आयोजना गरिएको छ।
महोत्सवको औपचारिक उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा विभिन्न आदिवासी समुदायका प्रतिनिधिहरूको उपस्थितिमा दीप प्रज्वलन गरी गरिएको थियो। उद्घाटन कार्यक्रममा विभिन्न आदिवासी तथा जनजातीय समुदायले आफ्ना मौलिक नृत्य र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भइरहेको महोत्सवले बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय नेपाली समाजभित्र रहेका आदिवासी जनजाति समुदायका स्मृति, इतिहास, पहिचान र अस्तित्वलाई उजागर गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
महोत्सव निर्देशक सागर केरुङले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव चलचित्र प्रदर्शनको मात्र मञ्च नभई आदिवासी समुदायको भाषा, सांस्कृतिक स्मृति, भू–चेतना, पूर्वजसँगको सम्बन्ध तथा अस्तित्वलाई विश्वमञ्चमा स्थापित गर्ने महत्वपूर्ण सांस्कृतिक अभियान भएको बताए।
नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुराष्ट्रिय संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, लोकज्ञान, सांस्कृतिक स्मृति तथा आध्यात्मिक अनुभवलाई दृश्य–श्रव्य माध्यममार्फत पुनस्र्थापित गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
महोत्सवले नेपालका विभिन्न आदिवासी समुदायले निर्माण गरेका मौलिक चलचित्रमार्फत सांस्कृतिक विमर्श, अन्तरक्रिया र दृश्य–श्रव्य अभिव्यक्तिको साझा भविष्यलाई सुदृढ बनाउन योगदान पुर्याउनेछ।
कार्यक्रममा बोल्दै केरुङले आदिवासी जनजाति चलचित्रप्रति मुख्यधाराका चलचित्रकर्मीको अपेक्षित चासो नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। महोत्सवमा सहभागी हुन निमन्त्रणा गरिएका धेरै चलचित्रकर्मी उपस्थित नभएको उनको गुनासो थियो। उनले चलचित्र क्षेत्रसँग सम्बन्धित केही विषय अदालतसम्म पुगेको प्रसंगसमेत उल्लेख गरेका थिए।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ।
कथानक चलचित्रतर्फ ‘रीत’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’, ‘ह्याङ तामाङ’ तथा ‘दिलसरा’ प्रदर्शन गरिने भएको छ। यस्तै लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘दुखला ग्यम’, ‘निको पहिचान’ तथा ‘लाहुरेनी’ समावेश छन्।
वृत्तचित्रतर्फ ‘आग्रे’, ‘लदि पुजा’ तथा एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवंशी’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
आयोजकले विश्वभर आदिवासी चलचित्रलाई कला वा मनोरञ्जनभन्दा पनि सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्तावेजका रूपमा हेरिन थालेको उल्लेख गरेको छ ।