काभ्रे। संघीय संसदका सभामुख डोलप्रसाद अर्याल आज काभ्रेपलाञ्चोक आउने भएका छन्। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्मको प्रगति समीक्षा कार्यक्रममा सहभागी हुन सभामुख आर्याल धुलिखेल आउने कार्यक्रम तय भएको हो।
जिल्ला समन्वय अधिकारी शिवप्रसाद हुमेगाँईका अनुसार धुलिखेलस्थित धुलिखेल अस्पतालको अडिटोरियम हलमा बिहान ११ः४५ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा सभामुख आर्यालले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै स्थानीय विकास, संघीयता कार्यान्वयन, सुशासन तथा स्थानीय तहहरूको भूमिका सम्बन्धी विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले हरेक वर्ष जिल्ला सभामार्फत जिल्लाभित्रका स्थानीय तह, संघीय तथा प्रदेशस्तरीय कार्यालयहरूको कार्यसम्पादन, विकास निर्माण, बजेट कार्यान्वयन तथा सेवा प्रवाहको समीक्षा गर्दै आएको छ। यस वर्षको कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म भएका उपलब्धि, चुनौती र आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिने जनाइएको छ।
सभामा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, संघ तथा प्रदेश सरकारअन्तर्गतका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ। कार्यक्रममा स्थानीय तहहरूले हासिल गरेका प्रगति विवरण प्रस्तुत गरिनुका साथै विकास आयोजना कार्यान्वयनको अवस्था, वित्तीय प्रगति, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रका गतिविधिबारे समीक्षा गरिने तयारी गरिएको छ।
काभ्रेमा जिल्ला सभाले स्थानीय तहहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा विकासका साझा मुद्दामा सहकार्यको वातावरण निर्माण गर्दै आएको छ। विगतका जिल्ला सभाहरूमा पनि जिल्लाको समग्र विकास, वित्तीय सुशासन, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
यसपटकको जिल्ला सभाबाट पनि विकास निर्माणलाई थप प्रभावकारी बनाउने, स्थानीय तहबीच समन्वय सुदृढ गर्ने तथा नागरिकमैत्री सेवा प्रवाहका लागि आवश्यक सुझाव र निष्कर्षहरू आउने अपेक्षा गरिएको छ। सभामुख आर्यालको उपस्थितिले कार्यक्रमलाई थप महत्व दिएको भन्दै आयोजक पक्षले जिल्लाको समग्र विकास र समन्वयमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ।