काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा आयोजना गरिने तय भएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा व्यापक छलफल गरिनेछ।
बैठकमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सहभागी हुन आग्रह गरिएको छ। छलफललाई प्रभावकारी र निष्कर्षमुखी बनाउन प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई निमन्त्रणा गरिएको जनाइएको छ।
रास्वपाले विभिन्न राजनीतिक दलबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यसहित बैठक आयोजना गरेको जनाएको छ। बैठकबाट समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिने अपेक्षा गरिएको छ।