तस्विर: Ai बाट
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ स्थित भकुण्डेवेशी बजार क्षेत्रमा आइतबार साँझ युवाहरूबीच भएको समूहगत झडपको घटनामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ भने एक जना अझै फरार रहेका छन्।
प्रहरीका अनुसार साँझ करिब ६:१५ बजे बजार क्षेत्रमा केही व्यक्तिहरूबीच कुटाकुट र झडप भइरहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक गणेश श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेकामध्ये नमोबुद्ध नगरपालिका–७ का विकास खड्का, विकेश खड्का, सुमन लामा र भरत लामा तथा नमोबुद्ध नगरपालिका–२ का तीर्थमान तामाङ रहेका छन्। घटनामा संलग्न रहेको आरोप लागेका रोशी गाउँपालिका–७ लास्कोटका मनिल लामा भने हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार झडपको कारण र घटनाको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ। घटनापछि बजार क्षेत्रमा केही समय तनावपूर्ण अवस्था बने पनि प्रहरीको सक्रियताले स्थिति सामान्य बनाइएको बताइएको छ।
प्रहरीले सार्वजनिक स्थानमा हुने यस्ता समूहगत झडप तथा हिंसात्मक गतिविधिले समाजमा असुरक्षा बढाउने भन्दै कानुनविपरीतका गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।