प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण तत्काल नहुने चर्चा चलेको छ।
नाम उल्लेख नगरीकन भारतको 'द प्रिन्ट' डिजिटल पत्रिकाले सूत्रहरूलाई उद्धृत गर्दै ओलीको भारत भ्रमण भदौमा हुने सम्भावना नरहेको भन्दै विवरण प्रकाशित गरेपछि नेपालमा त्यसलाई लिपुलेकको विषयसँग जोडेर हेर्न थालिएको छ।
नेपाली अधिकारीहरूले भने भ्रमणको मिति तय हुन बाँकी नै रहेको बताएका छन्। एक पूर्वराजदूतले मिति तय नभएकै कारण प्रधानमन्त्रीको भारत भ्रमण तत्काल नहुने आशङ्का गर्नु हतार हुने टिप्पणी गरेका छन्।
"भारतीय विदेशसचिवज्यूले भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरी फर्कनुभएको छ। उक्त भ्रमणका लागि अनुकूल मिति तय गर्ने काम हुँदै छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिन भारतका विदेशसचिव विक्रम मिस्री काठमाण्डू आएका थिए। मिस्रीले ओलीलाई भ्रमणको औपचारिक पत्र हस्तान्तरण गरेको भारतको विदेश मन्त्रालयले भदौ २ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ओली गत वर्ष असारमा पुनः प्रधानमन्त्री निर्वाचित भएका थिए। यो उनको तेस्रो कार्यकाल हो।
पुनः सत्ताको नेतृत्वमा पुगेका ओलीले लामो समयसम्म भारत भ्रमणको निम्तो पाएका थिएनन्। यद्यपि उनको भारतीय प्रधानमन्त्री मोदीसँग न्यूयोर्क र ब्याङ्कक भेट भएको थियो।
ओलीलाई भारत भ्रमणको निम्तो दिएर मिस्री फर्किएलगत्तै भारत र चीनले लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा "पुनः खोल्ने" सहमति गरेको विवरण भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो।