काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केही बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार २० वाणिज्य बैंकको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर असारमा ४.२७ प्रतिशतमा झरेको छ। जेठ महिनामा यो दर ४.३४ प्रतिशत रहेको थियो। यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा सीमित भएको छ।
असारका लागि सात बैंकले ब्याजदर कटौती गरेका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
नयाँ दरअनुसार कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, हिमालयन र एनआईसी एशिया बैंकले ४ प्रतिशतका दरले ब्याज उपलब्ध गराउने भएका छन्। एनएमबी बैंकले ४.७५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
यता, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्। नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर यथावत् राखेका छन्।
त्यसैगरी नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत तथा एभरेष्ट र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम राखेका छन्।
बैंकिङ प्रणालीमा तरलता सहज बन्दै जाँदा निक्षेपको लागत घटाउने रणनीतिअन्तर्गत बैंकहरूले ब्याजदरमा कटौती गरेको विश्लेषण गरिएको छ। यसले बचतकर्ताको प्रतिफल केही घट्ने भए पनि ऋणको लागत घट्ने सम्भावना भने बढेको छ।