२०८३, आश्विन १ गते

Sep 17 2026

सुशासन र द्रुत विकासका लागि प्रविधिमैत्री प्रशासन आवश्यक : राष्ट्रपति पौडेल

सुशासन र द्रुत विकासका लागि प्रविधिमैत्री प्रशासन आवश्यक : राष्ट्रपति पौडेल

रोज नेपाल
सोमवार, आषाढ १ २०८३
रोज नेपाल
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । राष्ट्रपति राम चन्द्र पौडेल ले जनताले अपेक्षा गरेको सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास हासिल गर्न राज्यका निकायहरूलाई समयअनुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।

    लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको संघर्ष र बलिदानको मुख्य उद्देश्य शान्ति, समृद्धि र सुशासन रहेको उल्लेख गरे। उनले नागरिकको अपेक्षा पूरा गर्न कर्मचारीतन्त्रलाई अझ जिम्मेवार, सेवामुखी र जनउत्तरदायी बनाउन आवश्यक रहेको धारणा राखे।

    राष्ट्रपतिले अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ कर्मचारीहरूले मात्र राज्य संयन्त्रलाई प्रभावकारी बनाउन सक्ने उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छरितो बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार स्मार्ट सेवा प्रणालीले नागरिकको विश्वास जित्न मद्दत पुर्‍याउनेछ र लोकतान्त्रिक व्यवस्थाप्रतिको भरोसा अझ मजबुत बनाउनेछ।

    उनले संविधानले आत्मसात गरेको समावेशी लोकतन्त्रको भावना अनुरूप योग्यता प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। लोक सेवा आयोगप्रति रहेको विश्वासका कारण मेहनती र सक्षम युवाले सार्वजनिक सेवामा आफ्नो भविष्य देख्न सकेको उल्लेख गर्दै आयोगले बदलिँदो समयअनुसार आफ्ना कार्यप्रणालीलाई अझ परिष्कृत गर्दै लैजानुपर्ने बताए।

    राष्ट्रपति पौडेलले लोक सेवा आयोग सरकारी सेवाका लागि दक्ष जनशक्ति छनोट गर्ने महत्वपूर्ण संवैधानिक निकाय भएको स्मरण गराउँदै कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। साथै, आधुनिक प्रविधिमा आधारित परीक्षा तथा मूल्याङ्कन प्रणाली अवलम्बन गरी छनोट प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।

    कार्यक्रममा उनले आयोगको कार्यक्षेत्र विस्तार भएसँगै सेवा प्रवाहलाई वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय बनाउने चुनौती थपिएको उल्लेख गर्दै विगतका उपलब्धिको समीक्षा गर्दै भविष्यका आवश्यकता अनुरूप योजना निर्माण गर्न आग्रह गरे।

    राष्ट्रपति पौडेलले सात दशकभन्दा बढी समयदेखि लोक सेवा आयोगले ‘योग्यता, निष्पक्षता र स्वच्छता’का आधारमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै आगामी दिनमा पनि यही प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij