२०८३, आश्विन २ गते

Sep 18 2026

“कम्युनिस्ट आन्दोलनले निराशा होइन, शिक्षा लिन्छ” — माधवकुमार नेपाल

“कम्युनिस्ट आन्दोलनले निराशा होइन, शिक्षा लिन्छ” — माधवकुमार नेपाल

रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्टहरू निराश नभई प्रत्येक परिणामबाट शिक्षा लिएर अघि बढ्ने बताएका छन्।

    नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान विश्व परिस्थितिलाई केवल निराशा वा केवल आशावादको दृष्टिले होइन, दुवै पक्षलाई सन्तुलित रूपमा हेर्नुपर्ने धारणा राखे।

    उनका अनुसार केही समूहहरूले सबै अवस्था नकारात्मक देखाएर निराशा फैलाइरहेका छन् भने केहीले वास्तविक जटिलतालाई बेवास्ता गर्दै केवल सकारात्मक पक्ष मात्र हेर्ने प्रवृत्ति देखाइरहेका छन्।

    नेपालले कम्युनिस्ट विचारधारा द्वन्द्ववादी भएको उल्लेख गर्दै जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई एकसाथ विश्लेषण गर्नुपर्नेमा जोड दिए। उनले भने, “समस्या पहिचान नगरी समाधान सम्भव हुँदैन, रोग पहिचान नगरी उपचार गर्न सकिँदैन।”

    उनले कम्युनिस्ट आन्दोलन नेपालमा विभिन्न राजनीतिक उतारचढाव र चुनौतीका बीच अघि बढिरहेको उल्लेख गर्दै विगतका निर्वाचन परिणामहरूले पार्टीलाई महत्वपूर्ण शिक्षा दिएको बताए।

    उनका अनुसार २०७९ को निर्वाचनपछि र पछिल्लो २०८२ को चुनावी परिणामले अपेक्षा विपरीत स्थिति देखाएको छ, जसले आत्मसमीक्षा र संगठनात्मक सुधार आवश्यक बनाएको छ।

    नेपालले अब पार्टीभित्र गहिरो आत्मचिन्तन र मन्थन आवश्यक रहेको बताउँदै कम्युनिस्टहरू आशावादी भएर सबै चुनौती सामना गर्नुपर्ने धारणा व्यक्त गरे।

    त्यसैगरी उनले संगठन निर्माणलाई केवल नाम र संरचनामा सीमित नराखी नियमित बैठक, प्रभावकारी छलफल र परिणाममुखी गतिविधिमा जोड दिनुपर्ने बताए।

    कार्यक्रममा उनले समयपालनको संस्कृतिमा सुधार आवश्यक रहेको टिप्पणी पनि गरे। बुद्धिजीवीहरूलाई विश्वका उत्कृष्ट ज्ञान, विज्ञान, प्रविधि र संगठनात्मक अभ्यास आत्मसात गर्न आग्रह गर्दै उनले विचार, संगठन र कार्यशैली सबै क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij