चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टी नेतृत्वले जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीष झाले महाधिवेशनलाई व्यवस्थित, समावेशी र प्रतिनिधिमूलक बनाउन आवश्यक व्यवस्थापनका काम सम्पन्न भइसकेको जानकारी दिए। भरतपुरको गेष्टहाउस चौरमा हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सहभागिता रहने कार्यक्रम छ।
देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। महाधिवेशनस्थल, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापनसमेत पूरा भइसकेको रास्वपाले जनाएको छ।
पार्टीले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १८ उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदन तयार भइसकेका छन् भने केन्द्रीय समितिले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावसमेत अनुमोदन गरेको छ।
विधान संशोधनमार्फत केन्द्रीय समितिको आकार १२१ बाट बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव अघि सारिएको छ। नयाँ संरचनामा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमध्ये कम्तीमा एक-एक जना महिला रहने प्रावधान प्रस्तावित गरिएको छ।
संशोधित विधानअनुसार ९९ जना केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना सदस्य पार्टी सभापतिले समावेशी आधारमा मनोनयन गर्न सक्ने व्यवस्था राखिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
महाधिवेशनमा संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, नीतिगत प्रस्ताव, विधान संशोधन तथा नयाँ नेतृत्व चयनका विषयमा व्यापक छलफल हुने रास्वपाले जनाएको छ। पार्टी नेतृत्वले महाधिवेशनलाई आगामी राजनीतिक यात्राको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
रास्वपाका अनुसार हाल पार्टी सदस्य संख्या पाँच लाख नाघिसकेको छ। देशका ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजारभन्दा बढी वडामा संगठनात्मक प्रक्रिया पूरा भएको छ। महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहने बताइएको छ।