काठमाडौं। बागमती प्रदेश देशका अन्य प्रदेशहरूको तुलनामा सामाजिक तथा आर्थिक सूचकमा अगाडि देखिएको छ। प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा बढी हो।
आर्थिक क्षेत्रमा पनि बागमतीले उल्लेखनीय प्रदर्शन गरेको छ। चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिँदा बागमती प्रदेशको वृद्धि दर ५.४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार यसले प्रदेशको आर्थिक सक्रियता र लगानी वातावरणलाई दर्शाउँछ।
कुल गार्हस्थ्य उत्पादन (GDP) मा समेत बागमतीको योगदान उच्च रहेको छ। आव २०८२/८३ मा देशको कुल GDP रु ६६ खर्ब ९ करोडमध्ये बागमती प्रदेशको हिस्सा करिब ३६.७ प्रतिशत अर्थात् रु २४ खर्ब २३ अर्ब पुग्ने अनुमान गरिएको छ।
प्रतिव्यक्ति आयको हिसाबले पनि बागमती प्रदेश देशमै अग्रस्थानमा रहेको देखिन्छ। मुलुकको औसत प्रतिव्यक्ति आय १,५३५ अमेरिकी डलर हुँदा बागमतीमा यो दर २,६४४ अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ।
गरिबी सूचकमा समेत प्रदेश तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेको छ। राष्ट्रिय स्तरमा निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा यी दर क्रमशः १२.५९ प्रतिशत र ७ प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ बजेटमा उल्लेख छ।
समग्रमा, बागमती प्रदेश शिक्षा, अर्थतन्त्र र जीवनस्तरका सूचकहरूमा अन्य प्रदेशभन्दा अघि देखिएको छ।