चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसोदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी तयारीअनुसार प्रतिनिधिहरूको प्रवेश प्रक्रिया पूरा भएपछि सत्र अघि बढाइनेछ।
यसअघि बिहानका लागि तय गरिएको बन्दसत्र प्राविधिक कारणले प्रभावित भएपछि कार्यक्रम समय परिमार्जन गर्दै दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको हो।
बन्दसत्रमा विभिन्न निकायका प्रतिवेदनहरू क्रमशः प्रस्तुत हुनेछन्। सुरुवातमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ भने त्यसपछि कोषाध्यक्षले वित्तीय प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी संगठनात्मक अवस्थाबारे विस्तृत प्रतिवेदन पनि पेश गरिनेछ।
कार्यतालिकाअनुसार दिउँसोको सत्रमा विधान संशोधन प्रस्तावमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइनेछ। पार्टीको भावी नीति तथा अर्थ–राजनीतिक दृष्टिकोणसम्बन्धी प्रस्तावना समेत प्रस्तुत गरिनेछ।
सभापतिको राजनीतिक प्रतिवेदनपछि त्यसमाथि छलफल गर्ने कार्यक्रम साँझसम्म जारी रहनेछ। बन्दसत्रको अन्तिम चरणमा अन्तरिम व्यवस्थापन संरचना घोषणा गर्दै निर्वाचन प्रक्रियाको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिने जनाइएको छ।
यससँगै नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्ने तयारी रास्वपाले गरेको छ।