काठमाडौं । कैलालीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार जिल्लाका छुट्टाछुट्टै स्थानमा गरिएको निगरानी तथा जाँच अभियानका क्रममा विभिन्न परिमाणको लागुऔषध बरामद गर्दै आठ जनालाई नियन्त्रणमा लिइएको हो।
धनगढी उपमहानगरपालिका–१६ मा प्रहरीले १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। त्यस्तै धनगढी–१७ बाट ३१० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कैलारी गाउँपालिका–७ हौसलपुर क्षेत्रमा गरिएको कारबाहीका क्रममा भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरीका ४७ वर्षीय एक भारतीय नागरिक २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
यता टिकापुर नगरपालिका–७ डाँडाबन क्षेत्रमा ८ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन र ५७० मिलिग्राम चरेशसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये टिकापुर–२ राजीपुरका ३३ वर्षीय एक पुरुष पनि रहेका छन्।
त्यसैगरी लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित ३१ वर्षीय स्थानीय बासिन्दालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि विशेष निगरानी बढाइएको छ। यसअघि असार ७ गते मात्रै धनगढीका विभिन्न स्थानबाट ११ युवालाई खैरो हेरोइन, चरेश तथा गाँजासहित पक्राउ गरिएको थियो।
बरामद लागुऔषध र पक्राउ परेकामाथि सम्बन्धित कानुनअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।