काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको निगरानी थप कडाइ गरिँदा पछिल्लो २४ घण्टामा १ हजार ५९२ वटा सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीबाट सरकारले २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको छ।
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीसाधनलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, अनुमति बिना राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्तीको संकेत उल्लंघन गर्ने ७४ जना तथा तीव्र गतिमा सवारी चलाउने ७८ जना कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ४७ जना, सवारीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना तथा एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी प्रवेश गराउने ३२ जनालाई पनि जरिवाना गरिएको छ। अन्य विभिन्न ट्राफिक कसुरमा १ हजार ५८ जनामाथि समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियम उल्लंघन गर्ने सवारीसाधनमाथि नियमित अनुगमन र कारबाहीलाई अझ तीव्र बनाइएको छ। कार्यालयले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।