काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले कर्णाली प्रदेशका दुई महत्वपूर्ण राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रभावित सडक खुलाउने प्रयास जारी रहे पनि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १७ गते परेको वर्षापछि रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा पहिरो खस्दा जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको हो।
त्यसैगरी शनिबार रोल्पाको परिवर्तन गाउँपालिका–१ अन्तर्गत खोलावाङ क्षेत्रमा पहिरो झरेपछि घोराही–रुकुम सहिदमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा पनि जोखिम बढिरहेको छ। अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकाय परिचालन भए पनि मौसम प्रतिकूल हुँदा काम प्रभावित भइरहेको बताइएको छ।
नेपाल प्रहरीले पूर्ण रूपमा बन्द रहेका सडकमा अनावश्यक यात्रा नगर्न र आंशिक रूपमा सञ्चालनमा रहेका मार्गमा अत्यन्त सावधानीका साथ मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै यात्रा सुरु गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा स्थानीय प्रशासनबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरिएको छ।