काठमाडौं । बौद्ध दर्शन, साहित्य तथा नैतिक जीवनका मूल्य–मान्यतालाई समाजमा थप प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यले सम्यक सन्देश द्वारा आयोजित बौद्ध प्रतिभा पुरस्कार समर्पण तथा पुस्तक विमोचन समारोह आइतबार काठमाडौंको विश्वशान्ति बुद्ध विहार, मिनभवनमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोह सम्यक् सन्देशका संरक्षक केदारनाथ श्रेष्ठको सभापतित्व तथा विश्व शान्ति विहारका प्रमुख श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्यक् सन्देशका मानार्थ संरक्षक जलेश्वरी श्रेष्ठ, सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार, बौद्ध अध्येता एवं त्रिचन्द्र क्याम्पसका पूर्व सहप्राध्यापक मदनरत्न मानन्धर, तथा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीकी सचिव एवं साहित्यकार लोचनतारा तुलाधरको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रम सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले सन्चालन गरेका थिए ।
समारोहमा बौद्ध धर्म, साहित्य, शिक्षा तथा बाल प्रतिभाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानस्वरूप विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
यसअन्तर्गत नानीमैयाँ मानन्धर र रत्नसुन्दर शाक्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’, श्रद्धाचारी गुरुमां र तीर्थरत्न शाक्यलाई ‘केदारनाथ–लीलादेवी साहित्य तथा शिक्षा पुरस्कार’, तथा श्रामणेर सुदत्त र श्रामणेर धर्मबोधीलाई ‘सम्यक्–जलेश्वरी बौद्ध बाल प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो ।
कार्यक्रममा बौद्ध धर्म, शिक्षा, साहित्य तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएका भिक्षुसंघ, लेखक, बुद्धिजीवी, समाजसेवी तथा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहको प्रमुख आकर्षणका रूपमा बौद्ध दर्शन र ध्यान अभ्याससँग सम्बन्धित " विपश्यना ध्यान" तथा “ बुद्ध वाणी ” नामक कृतिको औपचारिक विमोचन गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले यी पुस्तकहरूले बुद्धका उपदेशलाई सरल र व्यवहारिक रूपमा आमपाठकमाझ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसै अवसरमा बौद्ध धर्म, साहित्य, शिक्षा तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई "बौद्ध प्रतिभा पुरस्कार" प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले समाजमा नैतिकता, करुणा, मैत्रीभाव तथा शान्तिको सन्देश फैलाउन उल्लेखनीय भूमिका खेलेको भन्दै आयोजकले उनीहरूप्रति कृतज्ञता व्यक्त गरेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले बुद्धका शिक्षाहरू आजको समाजमा झन् सान्दर्भिक बन्दै गएको उल्लेख गर्दै हिंसा, विभेद र असहिष्णुताको अन्त्यका लागि बुद्धको मध्यम मार्ग, करुणा र मानवताको सन्देशलाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा राखे।
सम्यक सन्देशका प्रतिनिधिहरूले बौद्ध साहित्यको संरक्षण, प्रवर्द्धन तथा समाजमा सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमको अन्त्यमा आयोजकले समारोह सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै अतिथि, सहभागी, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको थियो। त्यसपछि सहभागीहरूबीच आत्मीय भेटघाटसँगै भोजन कार्यक्रमसमेत सम्पन्न भएको थियो।
बौद्ध दर्शन, साहित्य र सामाजिक चेतनालाई एकै थलोमा जोड्ने उद्देश्यसहित सम्पन्न उक्त समारोहले बुद्धका शिक्षालाई नयाँ पुस्तामाझ अझ प्रभावकारी रूपमा पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।