२०८३, आश्विन २ गते

Sep 18 2026

काभ्रेको भकुण्डेबेशीमा कडा बजार अनुगमन : खाद्य मापदण्ड उल्लंघन गर्ने व्यवसायलाई ७५ हजार रुपैयाँ जरिवाना

काभ्रेको भकुण्डेबेशीमा कडा बजार अनुगमन : खाद्य मापदण्ड उल्लंघन गर्ने व्यवसायलाई ७५ हजार रुपैयाँ जरिवाना

रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
  • भकुण्डेबेशी। नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजार क्षेत्रमा सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, मासु तथा बेकरी पसलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा खाद्य सुरक्षा र सरसफाइका मापदण्ड उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही गरिएको छ। अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि पाँच व्यवसायलाई गरी कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

    उद्योग वाणिज्य कार्यालयका प्रमुख रविन घिमिरेको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नमोबुद्ध नगरपालिका तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

    अनुगमनका क्रममा रोयल मःम एण्ड नेवारी खाजा घर व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको, भान्सामा सरसफाइको अभाव, झिंगा तथा साङ्लाको संक्रमण, शुद्धीकरण नगरिएको पानी प्रयोग, काँचो मासु र सलाद काट्न एउटै चक्कु तथा चपिङ बोर्ड प्रयोग गरिएको लगायतका गम्भीर कमजोरी फेला परेपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, व्यवसाय विधिसम्मत रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

    यसैगरी, लोटस बेकरी एण्ड सपमा खरिद–बिक्री बिल प्रयोग नगरेको, म्याद सकिएको खाद्य सामग्री उचित व्यवस्थापन नगरेको तथा म्याद गुज्रिएको कृत्रिम रङ फेला परेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    उत्सव चिकेन हाउसमा दर्ता गरिएको उद्देश्यभन्दा फरक प्रकृतिको व्यवसाय सञ्चालन, सरसफाइमा लापरबाही, म्याद नाघेका खाद्य सामग्री, तापक्रम नमिलेका फ्रिज, काँचो र पकाएको खाद्यवस्तु एउटै स्थानमा राखिएको तथा म्याद सकिएको पेय पदार्थ फेला परेपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको टोलीले जनाएको छ। 

    माता चण्डेश्वरी मिठाई पसलमा खाद्यवस्तु खुला रूपमा राखिएको, फोहोर पानी ट्याङ्की, मापदण्डविपरीत तेल प्रयोग तथा जीर्ण भान्साका सामग्री भेटिएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    news-anugaman2.gif

    त्यसैगरी, नेवारी खाजा एण्ड भान्छा घरमा सरसफाइको कमजोर अवस्था, खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, खुला रूपमा खाद्य पदार्थ राखिएको, म्याद सकिएका वस्तु छुट्टै नराखिएको र भान्साका उपकरण फोहोर अवस्थामा भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    टोलीले सातवटा व्यवसायको अनुगमन गर्दा करिब ५ हजार ७५५ रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको जनाएको छ।

    केही दिनअघि भकुण्डेबेशीस्थित रोयल मःम एण्ड नेवारी खाजा घरमा चाउमिन खाएका पाँच जना बिरामी परेको घटनापछि सम्बन्धित होटल प्रहरीले सिल गरेको थियो। सो घटनालाई गम्भीर रूपमा लिँदै अनुगमन टोलीले खाद्य पदार्थको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको जनाएको छ। परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण पुष्टि हुने र त्यसअनुसार कानुनी प्रक्रिया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।

    अनुगमन टोलीले सबै व्यवसायीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री–वितरण गर्न, सरसफाइ कायम राख्न तथा कानुनले तोकेका सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै, उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा गुणस्तर र म्यादमा ध्यान दिन तथा शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ। टोलीले आगामी दिनमा पनि नियमित बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij