२०८३, आश्विन २ गते

Sep 18 2026

एमाले पनि बाहिरियाे संविधान संशोधन कार्यदलबाट

एमाले पनि बाहिरियाे संविधान संशोधन कार्यदलबाट

रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
रोज नेपाल
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं। नेकपा (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई फिर्ता बोलाएको छ। पार्टी महासचिव शंकर पोखरेलले बिहीबार संयोजकलाई पत्र पठाउँदै कार्यदलमा पार्टीको सहभागिता नरहने जानकारी गराएका हुन्। सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीम अधिकारी प्रारम्भिक दिनमा सहभागी भए पनि कार्यदलको कामकारबाही सुरुदेखि नै सन्तोषजनक नरहेको एमालेको निष्कर्ष छ।
     
    एमालेले कार्यदलमा संविधान संशोधनका विषयवस्तु स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा संशोधनका लागि छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत देखिएको जनाएको छ।
     
    पार्टीले यी विषयमा सरकारको धारणा स्पष्ट गर्न पटक-पटक आग्रह गरे पनि हालसम्म कुनै स्पष्ट जवाफ नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ। एमालेले वर्तमान संविधानका आधारभूत व्यवस्थालाई अझ सुदृढ बनाउने र कार्यान्वयनका क्रममा देखिएका नकारात्मक अभ्यास तथा कमजोरी सुधार गर्ने उद्देश्यले मात्र संविधान संशोधन हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ।
     
    सरकारबाट आफ्नो प्रस्ताव र जिज्ञासाबारे स्पष्ट धारणा नआएकाले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट पार्टी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाउने निर्णय गरिएको महासचिव पोखरेलद्वारा जारी पत्रमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij