काठमाडौं। विपद्सम्बन्धी सूचना, गुनासा, उद्धार तथा समन्वय सेवालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले देशभर लागू हुने एकीकृत विपद् हटलाइन नम्बर १२३४ सञ्चालनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै अब नागरिकले आफ्नै जिल्लाबाट सोही नम्बरमा सम्पर्क गरी आपत्कालीन सेवा प्राप्त गर्न सक्नेछन्।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट सञ्चालन हुँदै आएको टोल–फ्री नम्बर ११४९ लाई प्रतिस्थापन गर्दै १२३४ नम्बर कार्यान्वयनमा ल्याइएको हो। यसले विपद्का समयमा सूचना आदान–प्रदान र उद्धार समन्वयलाई अझ छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिएको कल भने स्वतः सम्बन्धित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पुग्ने गरी प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस व्यवस्थाले स्थानीय स्तरमै तत्काल सूचना प्राप्त हुने, उद्धार कार्य छिटो सञ्चालन हुने तथा गुनासा र सुझावको प्रभावकारी व्यवस्थापन गर्न सहज हुने विश्वास लिइएको छ।
सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत नागरिकमुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा सक्रिय राख्ने व्यवस्था लागू गरिसकेको जनाएको छ।
गृह मन्त्रालयले विपद्को जोखिम वा आपत्कालीन अवस्था उत्पन्न हुँदा नेपाल सरकारबाट जारी गरिने आधिकारिक सूचना र पूर्वसूचनाको पालना गर्न तथा आवश्यक सहयोगका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सबै नागरिकलाई अनुरोध गरेको छ।