काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । बुधवार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका हुन् ।
कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार छ । एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यसअघि नै कर्णालीमा एमाले कांग्रेसबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।