काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक व्यवस्था र संविधानले सुनिश्चित गरेका जनअधिकारमाथि विभिन्न चुनौती देखा परिरहेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार जारी शुभकामना सन्देशमा उनले वर्तमान परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई सही वैचारिक आधारमा पुनर्गठन, रूपान्तरण र एकताबद्ध गर्नु समयको आवश्यकता भएको उल्लेख गरेका छन्।
खनालले राष्ट्रिय हित, सार्वभौमसत्ता, लोकतन्त्र तथा जनताले प्राप्त गरेका उपलब्धिको संरक्षण गर्न सबै कम्युनिस्ट शक्तिबीच साझा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रिय अखण्डताको रक्षा गर्दै आन्दोलनलाई नयाँ ऊर्जा र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अघि बढाउनुपर्ने अवस्था आएको छ।
उनले नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाललाई दूरदर्शी र वैचारिक नेताका रूपमा स्मरण गर्दै उनको विचार र मार्गदर्शनले नेपाली राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन्। संविधानसभामार्फत संविधान निर्माणदेखि समाजवादी रूपान्तरणको आधार तयार पार्न पुष्पलालको वैचारिक दृष्टिकोण प्रेरणादायी रहेको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री खनालले वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रिय हित, सामाजिक न्याय, समृद्धि र नेपाली विशेषतामा आधारित समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
सन्देशको अन्त्यमा उनले संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा उनको योगदान सदैव स्मरणीय रहने बताएका छन्।