काठमाडौं । पछिल्ला दिनमा नेपालमा बर्डफ्लुको संक्रमण उल्लेखनीय रूपमा घट्दै गएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ संक्रमण पुष्टि नभएको र रोग नियन्त्रणको अवस्था सन्तोषजनक बन्दै गएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले हाल संक्रमित क्षेत्र आसपासबाट नमुना संकलन गरी परीक्षण भइरहेको जानकारी दिँदै रोग थप फैलिन नदिन निगरानीलाई निरन्तरता दिइएको बताए। पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा संक्रमण पुष्टि भएको थियो।
यस वर्षको सुरुवातमा मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ बाट बर्डफ्लु देखिन थालेपछि रोग ११ जिल्लासम्म फैलिएको थियो। संक्रमणले विशेषगरी व्यावसायिक लेयर्स कुखुरालाई बढी असर गरेको भए पनि ब्रोइलर, प्यारेन्ट, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत संक्रमण देखिएको विभागले जनाएको छ।
काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्र ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५ र भक्तपुरमा ४५ स्थान प्रभावित भएका थिए भने काभ्रेपलाञ्चोकमा २७ स्थानमा संक्रमण फैलिएको थियो। उपत्यकाबाहिरका सात जिल्लामा भने रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागको भनाइ छ।
संक्रमण नियन्त्रणका क्रममा देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा तथा २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले बजेट व्यवस्था गर्दै हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकलाई ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिसकेको जनाएको छ।
पशु सेवा विभागका अनुसार देशभरका प्रयोगशालामा परीक्षण कार्यलाई तीव्रता दिइएको छ। सरकारी सक्रियता र किसानको सहकार्यका कारण संक्रमण नियन्त्रणमा आउन सफल भएको विभागको निष्कर्ष छ।
बर्डफ्लुको जोखिम घटेसँगै बजारमा कुखुराको मासु र अण्डाको माग पुनः बढ्न थालेको छ। यसले केही समयदेखि मूल्य घटेर समस्यामा परेका किसानलाई राहत मिल्न थालेको व्यवसायीहरूले बताएका छन्।