२०८३, आश्विन २ गते

Sep 18 2026

भोलि उद्घाटन हुँदै नेपालको पहिलो सुरुङमार्ग, चरणबद्ध रूपमा सञ्चालन गरिने

भोलि उद्घाटन हुँदै नेपालको पहिलो सुरुङमार्ग, चरणबद्ध रूपमा सञ्चालन गरिने

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षले संयुक्त रूपमा सुरुङमार्गको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

    सडक विभागका अनुसार उद्घाटनपछि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। सर्वसाधारणका लागि भने आवश्यक परीक्षण र सुरक्षा प्रक्रिया पूरा भएपछि मात्रै सञ्चालन खुला गरिने जनाइएको छ।

    नेपाल सरकार र जाइकाको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यस आयोजनाको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। सुरुङभित्रको आपत्कालीन निकास मार्ग (इभ्याकुएसन टनेल) तथा क्रस–प्यासेजहरू समेत जोड्दा यसको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ।

    जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि निर्माण सुरु गरेको यो आयोजना अब सञ्चालनको अन्तिम चरणमा पुगेको हो। विभागका अनुसार उद्घाटनपछि सुरुङभित्र सम्भावित दुर्घटना वा आगलागीजस्ता विपद् व्यवस्थापनको तयारी परीक्षण गर्न ‘मक ड्रिल’ सञ्चालन गरिनेछ।

    त्यसपछि करिब एक सातासम्म एकतर्फी रूपमा परीक्षण सञ्चालन गरिने योजना रहेको छ। सबै परीक्षण सफल भएपछि मात्रै सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ।

    सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मोटरसाइकल तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति नदिने व्यवस्था गरिएको छ।

    नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्यायको रूपमा हेरिएको यो सुरुङमार्गले काठमाडौं उपत्यकाको प्रवेशद्वारमा यात्रा समय घटाउनुका साथै यातायातलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij