कैलाली। कैलाली धनगढी उपमहानगरपालिका–३ की ३५ बर्षीय युवतीको आत्मदाह प्रयासपछि निधन भएको हो।
कैलालीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ज्योति चौधरीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि आफन्तले तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएका थिए।
प्रहरीका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो। त्यसपछि परिवारले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेको जनाएको छ।
उपचारका लागि काठमाडौं लैजाँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उनले यस्तो कदम चाल्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।