काठमाडौं । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि आंशिक रूपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले क्षेत्रको सुरक्षा अवस्था र पछिल्लो परिस्थितिको समीक्षा गर्दै निश्चित समयका लागि कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको जनाएको छ।
प्रशासनका अनुसार आगामी सुरक्षा अवस्थाको थप मूल्याङ्कनपछि कर्फ्युलाई थप सहज बनाउने वा पूर्ण रूपमा हटाउने विषयमा आवश्यक निर्णय गरी अर्को सूचना सार्वजनिक गरिनेछ।
यसैबीच, गोलबजार भएर सञ्चालन हुने लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइएको छ।
कर्फ्यु खुकुलो रहेको अवधिमा पनि शान्ति–सुरक्षा कायम राख्न पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा समूह बनाएर भेला नहुन प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।