२०८३, आश्विन २ गते

Sep 18 2026

मनसुन सक्रिय : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

मनसुन सक्रिय : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहँदा आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले पनि सरदर स्थान आसपास नै रहेको छ।

    हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली भएको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बागमतीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनीका केही स्थानमा समेत वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुनसक्ने पूर्वानुमान छ।

    यस्तै, कोशी र बागमतीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ।

    महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ। रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

    राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कर्णालीको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, पहिरो, गेग्रानसहितको बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन मौसम महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक आवागमन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणलगायतका क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij