काठमाडौं । नेपालमा मनसुन सक्रिय रहेकाले आइतबार देशका अधिकांश भू–भागमा मौसम बदली हुने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा सामान्य अवस्थाकै आसपास रहेको छ।
हाल बागमती र गण्डकी प्रदेशमा आकाशमा बादलको मात्रा बढी देखिएको छ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। बागमतीका केही स्थानमा तथा गण्डकीका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशका अधिकांश स्थानमा मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही ठाउँमा वर्षासँगै हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रमा पनि धेरै स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको छ।
तराई क्षेत्रमा भने लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा र कर्णालीको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा धेरै ठाउँमा मध्यम वर्षा हुनसक्नेछ।
मधेश तथा कर्णालीको पहाडी क्षेत्रमा र बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशीका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै बागमतीका हिमाली र पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने अनुमान छ। गण्डकी र कर्णालीका पहाडी क्षेत्र, मधेश तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा अन्य वर्षाजन्य जोखिम बढ्न सक्ने भएकाले मौसमको पछिल्लो सूचना हेरेर आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।