लेखनाथ सिकारु
युवा सिर्जनशीलताको नाम हो। युवा सम्भावनाको नाम हो। युवा परिवर्तनको ऊर्जा हो। नवीन सोच, नवीन प्रयोग, जोखिम मोल्ने साहस र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास युवाको पहिचान हो। तर विडम्बना के छ भने आज यही ऊर्जा र सम्भावनाले भरिएको ठूलो युवा शक्ति आफ्नै देशमा भविष्य खोज्न नसकेर विमानस्थलमा लामो लाइनमा उभिन बाध्य छ।
युवा विदेश जान चाहन्छ भन्ने सामान्य निष्कर्ष निकाल्नु सजिलो छ। तर वास्तविकता त्यति सरल छैन। अधिकांश युवा विदेश होइन, अवसर खोज्दैछ। उसलाई आफ्नो श्रमको सम्मान हुने ठाउँ चाहिएको छ। सीपको उचित मूल्य चाहिएको छ। आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने विश्वास चाहिएको छ। परिवारसँगै बसेर आत्मसम्मानपूर्वक जीवन बिताउने वातावरण चाहिएको छ। त्यसैले आजको मूल प्रश्न ‘युवा विदेश किन गइरहेको छ रु’ मात्र होइन, ‘युवालाई स्वदेशमै रोक्न हामीले के गरिरहेका छौँ रु’ भन्ने हो।
युवा शक्ति राष्ट्रको वर्तमान र भविष्य
युवा कुनै पनि देशको सबैभन्दा गतिशील जनशक्ति हो। युवासँग ऊर्जा हुन्छ, सिर्जनशीलता हुन्छ, जोखिम उठाउने क्षमता हुन्छ र परिवर्तनप्रतिको तीव्र आकाङ्क्षा हुन्छ। पुराना सोच र संरचनालाई प्रश्न गर्ने, नयाँ सम्भावना खोज्ने र आफूले देखेको सपनालाई व्यवहारमा उतार्ने उमेर पनि यही हो।
युवाहरू स्वभावैले परम्परागत सीमाभित्र मात्र सीमित भएर बस्न चाहँदैनन्। उनीहरू नयाँ कुरा सिक्न चाहन्छन्, नयाँ प्रविधि प्रयोग गर्न चाहन्छन्, नयाँ व्यवसाय गर्न चाहन्छन् र आफ्नै पहिचान बनाउन चाहन्छन्। तर युवाको यो स्वाभाविक ऊर्जालाई सही दिशामा परिचालन गर्ने वातावरण राज्य र समाजले निर्माण गर्न सकेन भने यही ऊर्जा निराशा, पलायन र निष्क्रियतामा परिणत हुन सक्छ। आजको पुस्तालाई दोष दिएर मात्र समस्या समाधान हुँदैन। युवाले देश छाडेको छ भने उसले देशलाई माया गर्दैन भन्ने होइन। उसले आफ्नो भविष्य खोजिरहेको हो।
शिक्षित युवा, तर रोजगारीको संकट
नेपालमा शिक्षाको पहुँच विस्तार भएको छ। विश्वविद्यालय र कलेजको संख्या बढेको छ। प्रविधिमा युवाको पहुँच बढेको छ। सूचना प्राप्त गर्ने अवसर पहिलेभन्दा व्यापक छ। तर एउटा गम्भीर समस्या अझै कायम छ शिक्षा र रोजगारीबीचको खाडल। शिक्षा व्यवहारवादी भएन ।
हाम्रो शिक्षा प्रणालीले प्रमाणपत्र त उत्पादन गरिरहेको छ, तर बजारले खोजेको सीप, दक्षता र व्यावहारिक क्षमता पर्याप्त मात्रामा उत्पादन गर्न सकेको छैन। परिणामतः एकातिर रोजगारदाताले दक्ष जनशक्ति नपाएको गुनासो गर्छन्, अर्कोतिर शिक्षित युवाले आफूले खोजेको रोजगारी नपाएको गुनासो गर्छन्। यस विरोधाभासलाई अन्त्य नगरेसम्म युवाको भविष्य सुरक्षित हुँदैन।
आजको शिक्षाले केवल जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने युवा उत्पादन गर्नुपर्छ। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, निर्माण, उद्योग, स्वास्थ्य, शिक्षा, डिजिटल सेवा, सिर्जनात्मक उद्योगलगायत क्षेत्रमा युवाको ज्ञान र सीपलाई जोड्नुपर्छ।
अनुदान होइन, अवसर चाहन्छ युवा
युवालाई लक्षित गरेर सरकारले विभिन्न कार्यक्रम ल्याएको छ। नीति बनेका छन्। राष्ट्रिय युवा नीति २०८२ लगायतका नीतिगत प्रयास भएका छन्। राष्ट्रिय युवा परिषद्, सीप विकास, उद्यमशीलता तथा स्वरोजगारका कार्यक्रम पनि सञ्चालनमा छन्। तर प्रश्न कार्यक्रमको संख्या कति छ भन्ने होइन। प्रश्न हो त्यसको प्रत्यक्ष लाभ कति युवाले पाए रु युवालाई कहिलेकाहीँ अनुदान दिएर मात्र समस्या समाधान हुँदैन। अनुदानभन्दा महत्वपूर्ण कुरा हो सहज वित्तीय पहुँच, प्राविधिक सीप, उत्पादनको बजार, उचित मूल्य, प्रविधि र निरन्तर मार्गदर्शन। युवाले सरकारसँग सधैँ सुविधा मागेको छैन। उसले आफ्नो श्रम र सिर्जनशीलता प्रयोग गर्ने अवसर मागेको छ। उसले बैंकको ढोका चाहार्दा धितो नभएको कारण ऋणबाट वञ्चित हुन नपरोस्। व्यवसाय सुरु गर्दा अनावश्यक प्रशासनिक झन्झट झेल्न नपरोस्। उत्पादन गरेपछि बजार नपाएर घाटामा जानु नपरोस्। सीप सिकेपछि काम नपाएर पुनः विदेश जानुपर्ने अवस्था नआओस्। युवाको वास्तविक अपेक्षा यही हो।
उत्पादन बढाऔँ, उद्योग खोलौँ
युवा रोजगारीको समस्या समाधान गर्ने हो भने नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनैपर्छ। देशमा उत्पादन नबढाई रोजगारी बढ्दैन। रोजगारी नबढाई युवालाई स्वदेशमै रोक्न सकिँदैन। त्यसैले अब विकासको प्राथमिकता केवल उपभोग र आयातमा आधारित हुनु हुँदैन। कृषिको आधुनिकीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, लघु तथा मझौला उद्योगको विस्तार, घरेलु उद्योगको संरक्षण, औद्योगिकीकरणको प्रारम्भ र उत्पादनसँग जोडिएको पूर्वाधार निर्माण आजको आवश्यकता हो।
बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने स्वदेशी उत्पादन निर्माण गर्न राज्यले नीति, प्रविधि, पूँजी र बजारको वातावरण बनाउनुपर्छ। स्थानीय स्रोत, स्थानीय श्रम र स्थानीय सीपलाई जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने हो भने गाउँबाट शहर र शहरबाट विदेशतर्फ हुने अनियन्त्रित पलायन पनि कम गर्न सकिन्छ।
स्वरोजगारका लागि पाँच आधार
युवालाई उद्यमशील बनाउने हो भने केवल ‘व्यवसाय गर’ भनेर पुग्दैन। त्यसका लागि राज्यले पाँचवटा आधार सुनिश्चित गर्नुपर्छ पूँजी, सीप, प्रविधि, बजार र उचित मूल्य। यी पाँचमध्ये एउटा मात्र कमजोर भयो भने उद्यम टिकाउन कठिन हुन्छ।
कुनै युवा कृषि गर्न चाहन्छ भने उसलाई उत्पादनदेखि बजारसम्मको प्रणाली चाहिन्छ। कुनै युवा सूचना प्रविधिमा काम गर्न चाहन्छ भने उसलाई डिजिटल पूर्वाधार र विश्व बजारमा पहुँच चाहिन्छ। कुनै युवा पर्यटन व्यवसाय गर्न चाहन्छ भने पूर्वाधार, प्रचार र वित्तीय पहुँच आवश्यक हुन्छ। त्यसैले युवा उद्यमशीलता कार्यक्रमलाई कागजी परियोजना होइन, उत्पादन र रोजगारीसँग जोडिएको राष्ट्रिय अभियान बनाइनुपर्छ।
विदेशबाट फर्किएका युवालाई अवसर
वैदेशिक रोजगारीबाट फर्किएका युवासँग पैसा मात्र हुँदैन। उनीहरूसँग सीप, अनुभव, अनुशासन, अन्तर्राष्ट्रिय बजारको ज्ञान र काम गर्ने नयाँ संस्कार पनि हुन्छ। तर दुःखद कुरा के छ भने फर्किएपछि उनीहरूका लागि आफ्नो सीप र अनुभव उपयोग गर्ने पर्याप्त संरचना छैन। अब विदेशबाट फर्किएका युवालाई ‘फर्किएको श्रमिक’ का रूपमा मात्र होइन, सम्भावित उद्यमी, प्रशिक्षक र लगानीकर्ताका रूपमा समेत हेर्नुपर्छ। उनीहरूले विदेशमा सिकेको प्रविधि नेपालमा प्रयोग गर्ने वातावरण बनाउनुपर्छ। उनीहरूको अनुभवलाई स्थानीय उद्योग र उत्पादन प्रणालीसँग जोड्नुपर्छ।
वातावरणीय परिवर्तन पनि चुनौती
आज युवाको रोजगारीको प्रश्नलाई वातावरणीय परिवर्तनबाट अलग गरेर हेर्न सकिँदैन। जलवायु परिवर्तनले कृषि, पर्यटन, पानी, ऊर्जा, पूर्वाधार र उत्पादन प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। यसको असर अन्ततः रोजगारीमा पर्छ। त्यसैले अबको युवा नीति ‘रोजगारी’ मात्र होइन, हरित रोजगारीतर्फ पनि केन्द्रित हुनुपर्छ।
नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, जैविक कृषि, फोहोर व्यवस्थापन, पुनःप्रयोग, हरित प्रविधि र दिगो पर्यटनजस्ता क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिन्छ। युवालाई वातावरणीय समस्याको पीडित मात्र होइन, समाधानको नेतृत्वकर्ता बनाउनुपर्छ।
युवामा लगानी भनेको राष्ट्रको भविष्यमा लगानी हो
युवामा लगानी भन्नाले पैसा मात्र होइन। युवामा शिक्षाको लगानी, सीपको लगानी, प्रविधिको लगानी, संस्कृतिको लगानी, नैतिकताको लगानी, समयको लगानी र विश्वासको लगानी पनि हो। आजको युवालाई सही मार्गदर्शन, सकारात्मक पृष्ठपोषण र सिर्जनात्मक वातावरण दिन सकियो भने भोलि यही जनशक्ति परिवार, समाज र राष्ट्र निर्माणको बलियो आधार बन्न सक्छ।
युवालाई केवल भाषणमा प्रशंसा गरेर पुग्दैन। निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ। स्थानीय तहदेखि राष्ट्रिय नीतिनिर्माणसम्म युवाको आवाज सुनिनुपर्छ। युवाका बारेमा नीति बनाउने ठाउँमा युवा आफैँ पनि उपस्थित हुनुपर्छ।
‘युवा रोक्ने नेपाल’ बनाउने कि ‘युवा पठाउने नेपाल’ ?
हामीले अब एउटा गम्भीर राष्ट्रिय बहस सुरु गर्नुपर्छ। के नेपालले सधैँ आफ्ना युवालाई वैदेशिक रोजगारीका लागि पठाइरहने हो रु कि युवालाई स्वदेशमै अवसर दिएर उत्पादन, उद्यम र नवप्रवर्तनको शक्ति बनाउने हो ? रेमिट्यान्सले अर्थतन्त्रलाई तत्काल राहत दिन सक्छ। तर दीर्घकालीन समृद्धिको आधार रेमिट्यान्स मात्र हुन सक्दैन। देशको भविष्य आफ्नै उत्पादन, उद्योग, सीप, प्रविधि र रोजगारीमा निर्भर हुन्छ। त्यसैले युवा विदेश गएकोमा खुसी भएर रेमिट्यान्सको हिसाब गर्नेभन्दा पनि किन युवा जान बाध्य भयो ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ।
युवालाई पासपोर्ट होइन, सम्भावनाको बाटो देखाऔँ
युवाको हातमा पासपोर्ट हुनु आफैँमा समस्या होइन। समस्या तब हुन्छ, जब पासपोर्ट नै उसको भविष्यको एकमात्र विकल्प बन्न पुग्छ। युवाको हातमा पासपोर्टसँगै सीपको प्रमाणपत्र, उद्यमको अवसर, प्रविधिको पहुँच, सुलभ पूँजी र स्वदेशी बजार पनि हुनुपर्छ। उसले विदेश जान चाहे जान सक्ने स्वतन्त्रता होस्, तर बाध्य भएर जानुपर्ने अवस्था नहोस्। नेपाल त्यस्तो देश बन्नुपर्छ जहाँ युवाले भन्न सकोस् ‘यहाँ पनि मेरो भविष्य छ।’ यही विश्वास निर्माण गर्न सकियो भने मात्र समृद्ध नेपालको सपना व्यवहारमा रूपान्तरण हुनेछ।
युवा दिवस: नाराभन्दा नयाँ संकल्प
अन्तर्राष्ट्रिय युवा दिवस केवल शुभकामना आदानप्रदान गर्ने दिन होइन। यो युवासम्बन्धी नीति, कार्यक्रम र हाम्रो सोचको समीक्षा गर्ने अवसर पनि हो। युवालाई केवल भविष्यको नागरिक भनेर हेर्ने सोच बदल्नुपर्छ। युवा वर्तमानका साझेदार हुन्। उनीहरू अहिले नै निर्णय, उत्पादन, उद्यम र राष्ट्र निर्माणका सक्रिय शक्ति हुन्। त्यसैले आजको संकल्प स्पष्ट हुनुपर्छ युवालाई विदेश पलायनको तथ्याङ्क होइन, स्वदेश निर्माणको शक्ति बनाउने। युवालाई आश्वासन होइन, अवसर दिने। युवालाई अनुदान होइन, उद्यमको आधार दिने। युवालाई प्रमाणपत्र होइन, बजारमा बिक्ने सीप दिने। युवालाई भाषण होइन, निर्णय प्रक्रियामा स्थान दिने। र सबैभन्दा महत्वपूर्ण युवालाई देशमा बस्न आग्रह मात्र होइन, देशमै बस्न सक्ने वातावरण निर्माण गर्ने। युवा अडिने देश बनाउन सके मात्र समृद्ध नेपालको सपना साकार हुनेछ। नेपालसँग जनशक्ति छ। ऊर्जा छ। स्रोत छ। सम्भावना छ। सपना देख्ने युवा पुस्ता छ।
सही नीति, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, उद्यममैत्री वातावरण र युवामाथिको राज्यको दृढ विश्वास अवको आवश्यकता हो । किनकि युवा विदेश होइन, अवसर खोज्दैछ। अवसर पायो भने यही युवा खेतमा उत्पादन बढाउन सक्छ, उद्योगमा मेसिन चलाउन सक्छ, प्रविधिबाट विश्व बजार जोड्न सक्छ, नयाँ उद्यम खडा गर्न सक्छ र आफ्नै माटोमा बसेर विश्वसँग प्रतिस्पर्धा गर्न सक्छ। युवाको ऊर्जा पलायन हुन नदिऔँ त्यसलाई उत्पादन, उद्यम र समृद्धिको शक्तिमा रूपान्तरण गरौँ। युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्दै उनीहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ। अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।