काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको खरिद प्रक्रियामा बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी मुख्यालयसम्म बिचौलियाको प्रभाव पुगेको दाबी गरेका हुन्।
प्रहरीको स्रोत–साधन खरिदबारे समितिले मागेको विवरण अझै प्राप्त भए–नभएको विषयमा सुनारले प्रश्न गरे। उनका अनुसार यसअघि समितिले १५ दिनभित्र खरिदसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन भने पनि त्यसबारे स्पष्ट विवरण आउन बाँकी छ।
सुनारले प्रहरीमा करोडौँ रुपैयाँका नयाँ टेन्डर प्रक्रिया अघि बढिरहेको प्रसंगसमेत बैठकमा उठाए। खरिद प्रक्रियामा निश्चित समूह वा बिचौलियाको प्रभाव रहेको उनको आरोप थियो।
यसअघि समितिको बैठकमा प्रहरी अधिकारीसँग भएको सवाल–जवाफको प्रसंग निकाल्दै उनले आफूले उठाएका प्रश्नबाट पछि नहट्ने बताए। आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको महसुस भए कानुनी बाटो रोज्नसमेत उनले चुनौती दिए।
सांसद सुनारले समितिको बैठकमा मर्यादित ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै सार्वभौम संसदीय समितिमा आएर व्यक्तिगत विवादजस्तो शैलीमा सवाल–जवाफ गर्नु उचित नभएको धारणा राखे।
यसअघि सार्वजनिक लेखा समितिको बैठकमा सुनारको प्रस्तुति र अभिव्यक्तिको शैलीलाई लिएर आलोचना भएको थियो। विषयले चर्चा पाएपछि सभामुखले समेत घटनाबारे चासो राख्दै समितिका सभापति, सचिव तथा प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।
त्यसपछि रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय बैठकमा अभिव्यक्ति दिँदा मर्यादा र शैलीमा ध्यान दिन निर्देशन दिएको थियो। यद्यपि, सुनारले प्रहरीको खरिद प्रक्रिया र बिचौलियाको प्रभावसम्बन्धी विषयलाई पुनः समितिको बैठकमा उठाएका हुन्।