२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल आउन विदेशीलाई सहज, अब अनलाइनबाटै इ–भिसा भदौ १५ देखि लागू हुँदै

नेपाल आउन विदेशीलाई सहज, अब अनलाइनबाटै इ–भिसा भदौ १५ देखि लागू हुँदै

रोज नेपाल
बिहिवार, भाद्र ४ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । नेपाल भ्रमणमा आउने विदेशी नागरिकका लागि भिसा प्रक्रिया थप सहज हुने भएको छ। अध्यागमन विभागले लामो समयको परीक्षण र तयारीपछि आगामी भदौ १५ गतेदेखि इ–भिसा प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नेपाल आउन चाहने विदेशीले भिसाका लागि अध्यागमन कार्यालयमा लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। उनीहरूले आफू रहेको स्थानबाटै अनलाइन आवेदन दिएर आवश्यक शुल्क तिर्न सक्नेछन्।

    अध्यागमन विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार इ–भिसा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा अन्य तयारी पूरा भइसकेको छ। प्रणाली कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन गृह मन्त्रालयमा प्रस्ताव पठाइएको उनले जानकारी दिएका छन्।

    हाल प्रचलित अध्यागमन नियमावलीमा इ–भिसासम्बन्धी स्पष्ट व्यवस्था नरहेकाले नियमावली संशोधनको तयारी भइरहेको छ। त्यसका लागि मन्त्रिपरिषद्बाट आवश्यक कानुनी संशोधन गरिने विभागले जनाएको छ।

    इ–भिसा प्रणाली लागू भएपछि विदेशी नागरिकको राहदानीमा छुट्टै भिसा स्टिकर टाँस्नुपर्ने व्यवस्था हट्नेछ। अनलाइन आवेदन स्वीकृत भएपछि पर्यटकले भिसा प्रिन्ट गरी नेपाल प्रवेशका लागि प्रयोग गर्न सक्नेछन्।

    सरकारले नयाँ प्रणालीबाट नेपाल आउने विदेशीका लागि भिसा प्रक्रिया छिटो, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरेको छ। विशेषगरी पर्यटन प्रवर्द्धनमा समेत यसले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij