काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यहरूलाई लक्षित गर्दै दुईदिने कार्यशाला आयोजना गरेको छ । काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबारदेखि कार्यशाला सुरु भएको हो ।
कार्यशालामा पार्टीको नीति, संगठन सञ्चालन तथा नेतृत्व विकासलगायतका विषयमा छलफल र प्रशिक्षण हुने रास्वपाले जनाएको छ ।
पहिलो दिन उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री विपिन आचार्यसहितका नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । प्रशिक्षणमार्फत पार्टीका केन्द्रीय सदस्यहरूको राजनीतिक तथा सांगठनिक भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।
कार्यशालाको दोस्रो तथा अन्तिम दिन आइतबार पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
रास्वपाले आन्तरिक संगठन सुदृढीकरण, नीति निर्माण र नेतृत्व क्षमताको विकासलाई कार्यशालाको मुख्य उद्देश्य बनाएको जनाएको छ ।