२०८३, आश्विन २ गते

Sep 18 2026

नेपाल–चीन सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड, सिजाङको विकास अनुभवबारे छलफल

नेपाल–चीन सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड, सिजाङको विकास अनुभवबारे छलफल

रोज नेपाल
शनिवार, भाद्र ६ २०८३
रोज नेपाल
शनिवार, भाद्र ६ २०८३
  • काठमाडौं । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    नेपाल–चीन जनस्तरीय सम्बन्धलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘सिजाङ पानोरोमा : नयाँ युग, नयाँ विकास’ विषयक अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । चीनको मानव अधिकार अध्ययन समाज, त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यमा आयोजित कार्यक्रममा नेपाल र चीनका ३०० भन्दा बढी सहभागी थिए ।

    कार्यक्रममा नेपाल–चीन सम्बन्धका विभिन्न आयाम, मानव अधिकार, आर्थिक तथा सामाजिक विकास र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो । सहभागी वक्ताहरूले दुई देशबीचको सहकार्यलाई नयाँ क्षेत्रसम्म विस्तार गर्दै आपसी अनुभव र ज्ञान आदानप्रदानलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

    चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका स्थायी समिति सदस्य तथा जातीय तथा धार्मिक मामिला समितिका उपाध्यक्ष जियाङ जियांगुओले सिजाङमा पछिल्ला ७५ वर्षमा भएको विकासबारे चर्चा गरे । उनले चीनले नागरिकको जीवनयापन र विकासको अधिकारलाई महत्त्व दिँदै आएको उल्लेख गर्दै सिजाङको परिवर्तनलाई चीनको मानव अधिकार विकासको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरे ।

    राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नेपाल र चीनबीच सहकार्य र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले चिनियाँ संस्थासँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ गर्न नेपाल इच्छुक रहेको धारणा राखे ।

    नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सिजाङको आर्थिक तथा सामाजिक विकासका अनुभव नेपालका लागि उपयोगी हुनसक्ने बताए । उनले हिमालय क्षेत्रको सीमापार सहकार्यलाई थप गहिरो बनाउन नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको उल्लेख गरे ।

    कार्यक्रममा ‘खुला सिजाङ, जीवन्त सिजाङ, सुमधुर सिजाङ र हरित सिजाङ’का अवधारणामा आधारित अनुभव तथा तस्बिर प्रस्तुत गरिएको थियो । सहभागीहरूले सिजाङको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षसँग सम्बन्धित अनुभव तथा जानकारीसमेत आदानप्रदान गरेका थिए ।

    कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ, पूर्वअध्यक्ष कुमार शर्मा आचार्यलगायत विभिन्न क्षेत्रका प्रतिनिधिले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र आगामी दिनमा सहकार्यका सम्भावनाबारे धारणा राखेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij