२०८३, आश्विन २ गते

Sep 18 2026

३९२ नागरिकको मुस्कान फर्काउने प्रयास : बारपाक–सुलिकोटमा दन्त शिविर

३९२ नागरिकको मुस्कान फर्काउने प्रयास : बारपाक–सुलिकोटमा दन्त शिविर

आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  •  

    गोरखा । दाँतको सामान्य समस्या लिएर टाढाको सहर धाउनुपर्ने बाध्यता झेलिरहेका बारपाक–सुलिकोटका नागरिकका लागि गाउँमै दन्त उपचारको ढोका खुलेको छ। शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो। केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णु भट्टले गर्नुभएको हो। केन्द्र सञ्चालनको अवसरमा आयोजित दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविरमा ३९२ जना नागरिकले सेवा प्राप्त गरेका छन्।

    शिविरमा दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँत भर्ने, एक्स–रे तथा रुट क्यानललगायतका सेवा उपलब्ध गराइएको थियो। आयोजकका अनुसार १३८ जनाले दाँत सफा गर्ने, ८१ जनाले दाँत निकाल्ने, २१० जनाले दाँत भर्ने, ५१ जनाले एक्स–रे र १ जनाले रुट क्यानल सेवा लिएका छन्।

    शिविरमा ॐ समाज डेन्टल हस्पिटलका दन्त चिकित्सक डा. ममता भुजेल, डा. दिक्षा चौधरी, डा. सबिना दुवाडीलगायत स्वास्थ्यकर्मीको टोली सहभागी थियो।

    शिविरका क्रममा विद्युत् पटक–पटक अवरुद्ध भए पनि स्वास्थ्यकर्मी तथा स्वयंसेवकले सेवा निरन्तर राखे। उपकरण सञ्चालनमा कठिनाइ भए पनि टोलीले उपलब्ध स्रोतसाधन प्रयोग गर्दै उपचारलाई सम्भव भएसम्म निरन्तरता दिएको थियो।

    गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले स्वास्थ्यकर्मीको सेवाभावबाट आफूहरू प्रभावित भएको बताउनुभयो। दुर्गम क्षेत्रमा आएर लामो समयसम्म खटिएर सेवा दिएको भन्दै उहाँले स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले स्थानीय नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विस्तार गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

    दन्त उपचार केन्द्र स्थापनाले आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित हुँदै आएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij