ललितपुर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर आन्दोलनरत लघुवित्त ऋणीहरूले सरकारसँग सहमति भएपछि आफ्नो धर्ना स्थगित गर्दै घर फर्किएका छन्।
सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि लामो समयदेखि जारी धर्ना कार्यक्रम रोकिएको हो। सहमतिपछि ऋणीहरूलाई आ–आफ्नो गन्तव्यमा पठाउने व्यवस्था सरकारले गरेको थियो।
आइतबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत उनीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाइएको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमा राखेर बिदाइ गरिएको जनाइएको छ।
धर्नामा सहभागी ऋणीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लामा पठाइएको छ।
सरकारसँग भएको १४ बुँदे सहमतिपछि आन्दोलन स्थगित भएसँगै पुल्चोकस्थित आयोग कार्यालयबाहिरको धर्नास्थल पनि खाली भएको छ। सहमति कार्यान्वयनको अवस्थालाई आगामी दिनमा आफूहरूले नजिकबाट नियाल्ने ऋणी पक्षले जनाएको छ।