२०८३, आश्विन २ गते

Sep 18 2026

दिवंगत आफन्तको सम्झनामा स्वयम्भूमा विशेष पूजा, सुरु भयो गुँला पर्व

दिवंगत आफन्तको सम्झनामा स्वयम्भूमा विशेष पूजा, सुरु भयो गुँला पर्व

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । दिवंगत आफन्तको आत्माको शान्ति तथा पुण्य स्मरणका लागि बौद्ध धर्मावलम्बीले काठमाडौँको स्वयम्भूमा विशेष पूजाआजा गरेका छन्। परम्परागत बाजागाजासहित स्वयम्भू पुगेका भक्तजनले महाचैत्यको परिक्रमा गर्दै धार्मिक विधिअनुसार पूजा गरेका हुन्।

    एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गरिएको पूजामा भैँसीको सिङबाट बनाइएको परम्परागत बाजासमेत बजाइएको थियो। काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट आएका भक्तजनको सहभागिताले स्वयम्भू परिसर धार्मिक वातावरणले भरिएको थियो।

    नेपाल संवत्को दशौँ महिनाका रूपमा मानिने गुँला पर्व श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ। बौद्ध धर्मावलम्बीका लागि यो समय धार्मिक गतिविधि, पुण्य सञ्चय र आत्मशुद्धिका दृष्टिले महत्वपूर्ण मानिन्छ।

    गुँला पर्वमा भक्तजनले विभिन्न धार्मिक तथा सामाजिक कार्य गर्ने, दान दिने र आफ्नो जीवनलाई संयमित तथा सात्त्विक बनाउने अभ्यास गर्छन्। पर्व अवधिभर हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, मिथ्याचारबाट टाढा रहने, मदिरा तथा लागुऔषध सेवन नगर्ने, मनोरञ्जनमा संयम अपनाउने र ब्रह्मचर्यलगायतका विभिन्न अनुशासन पालना गर्ने परम्परा छ।

    ‘गुँ’ले गुण र ‘ला’ले महिनालाई जनाउने भएकाले गुँला पर्वलाई पुण्य तथा सद्कर्म गर्ने विशेष महिनाका रूपमा लिने गरिएको छ।

    गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडानलगायतका तयारी गरेको जनाएको छ।

    महासमिति सदस्य राजु लामाका अनुसार पर्वका क्रममा उपत्यकाका विभिन्न स्थानबाट भक्तजन परम्परागत बाजागाजासहित स्वयम्भूमा आउने गर्छन्। स्वयम्भूमा पूजाआजा तथा परिक्रमा गरेपछि शोभाभगवतीको समेत परिक्रमा गर्ने धार्मिक परम्परा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij