बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट नियुक्त भएका तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपाको सिफारिसमा दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा पठाउने तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। त्यसैका आधारमा मुख्यमन्त्रीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।
तीनै मन्त्रीले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। अब प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ।
नयाँ मन्त्रीहरूको प्रवेशसँगै सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत स्पष्ट भएको छ भने सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार सरकारको संरचना पूरा भएको छ।