२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवा बाढीमा ‘सरकारको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ’: सांसद युवराज दुलाल

रसुवा बाढीमा ‘सरकारको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्छ’: सांसद युवराज दुलाल

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षतिलाई गम्भीर रूपमा लिएर उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण क्षमता परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको भन्दै प्रभावित जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर विशेष प्राथमिकताका साथ काम गर्नुपर्ने बताए।

    उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रसँगै निजी क्षेत्रका हेलिकप्टरसमेत आवश्यकताअनुसार नियन्त्रणमा लिएर परिचालन गर्नुपर्ने धारणा राखे। विभिन्न जिल्लाका नाका तथा आयोजनामा काम गर्न पुगेका धेरै मानिस सम्पर्कविहीन रहेको र रसुवामा सञ्चार सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धारमा थप कठिनाइ भएको भन्दै तत्काल सञ्चार सम्पर्क पुनःस्थापना गर्न उनले माग गरे।

    विपद्को समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै पक्ष एक ठाउँमा उभिनुपर्ने दुलालको भनाइ थियो। उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा उद्धार र राहतमा परिचालन हुन निर्देशन दिएका छन्।

    दुलालले विगतका बाढीका घटनाबाट सिकेर भविष्यमा यस्ता विपद्को क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। विशेषगरी उत्तर–दक्षिण बग्ने नदीमा प्रभावकारी अर्ली वार्निङ सिस्टम स्थापना गर्नुका साथै छिमेकी मुलुकसँग सीमापार सूचना आदानप्रदानको संयन्त्र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

    चीनतर्फबाट आएको बाढीबारे नेपालले समयमै सूचना पाएको थियो कि थिएन भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उनले बताए। आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि छिमेकी मुलुकसँग नियमित र प्रभावकारी समन्वय गर्न सरकारलाई उनले सुझाव दिए।

    बाढीका कारण अवरुद्ध राजमार्ग, विद्युत् तथा सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने र विस्थापित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाउनुपर्ने दुलालले बताए। उनले विपद्पछिको पुनर्निर्माणमा समेत सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij